नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले केपी शर्मा ओली नेतृत्वको सरकार चौतर्फी रूपमा असफल भएको टिप्पणी गरेका छन्। शुक्रवार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा सहभागी हुँदै पाण्डेले यस्तो टिप्पणी गरेका हुन्।
‘महिनौँदेखि खाली रहेको राष्ट्र बैंकको गभर्नर एक जना पनि नियुक्त गर्न सरकारले सकेन। दुई तिहाइ मत लिएर बसेको सरकारको हालत यो छ,’ पाण्डेले भने,‘सरकारका अङ्गहरू संस्थान, प्राधिकरण भ्रष्टाचारमा व्याप्त छन्। स्वास्थ्य, शिक्षा क्षेत्रमा बेथिति छ। यी कुराको समाधान भएर आएको देखिएन।’
प्रधानमन्त्री ओली आफ्नै दल एमालेभित्र एक्लिँदै गएको पनि पाण्डेले बताए। उनले भने, ‘प्रधानमन्त्री ओली आफ्नै दलभित्र एक्लिँदै गएका छन्। सत्ता साझेदार दलभित्रको सम्बन्ध तितो र कष्टकर बन्दै गएको समाचार दैनिक सुनिन्छ। निराश नेताले चलाएको शासन कस्तो होला?’
संविधान कार्यान्वयनका लागि संविधान जारी भएको तीन वर्षभित्र आउनुपर्ने ऐनहरू अहिलेसम्म आउन नसकेको पनि पाण्डेले बताए। ‘बहुमतका आधारमा आउनुपर्ने ऐन त आउन सकेनन्, दुई तिहाइ मतले पास हुनुपर्ने संविधान संशोधन के होला? त्यो पनि म देख्दिनँ,’ उनले भने।
प्रकाशित: २६ वैशाख २०८२ १४:५० शुक्रबार