राजनीति

'जनताको मनबाट यो सरकार ढलिसक्यो, देउवाजीलाई फकाएका छैनौँ'

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अहिले आफूहरूको ध्यान सरकार ढाल्ने वा बनाउनेतिर नभएको जिकिर गरेका छन्।

सोमबार (आज) बसेको संसद् बैठकपछि बाहिरिएका दाहालले पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन्। 'हामी जनता केन्द्रित छौँ र हुन्छौँ,' उनले भने, 'अहिले सरकार ढाल्ने वा गठन गर्ने पक्षमा छैनौँ।'

उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फकाउने पक्षमा पनि आफूहरू नरहेको जिकिर गरे। प्रचण्ड सरकार कहिले बन्छ ? सरकार ढल्दैछ भन्नुभएको होइन ? भन्ने प्रश्नमा उनले भने, 'अहिले देउवाजीलाई वा अरु कसैलाई फकाउने पक्षमा हामी छैनौँ। जनतामै छौँ हामी। जादु चलाउन चाहे चल्छ। तर, हामीले अहिले चलाउने पक्षमा छैनौँ।'

उनले वर्तमान सरकार जनताको मनबाट ढलिसकेको बताए। 'यो सरकार जनताको मनबाट त ढलिसकेको छ,' उनले भने, 'ढाल्नेतिर हाम्रो ध्यान छैन।'

प्रकाशित: २२ वैशाख २०८२ १८:१४ सोमबार

#पुष्पकमल दाहाल #Pushpakamal Dahal