संसदीय समितिले प्रिशा साह मृत्यु प्रकरणमा सत्य तथ्य सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।
सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूटमा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा साहको रहस्यमय मृत्युको घटनाबारे यथार्थ जानकारी दिन निर्देशन दिएको हो ।
कलिंगा इन्स्टिच्युटमा तीन महिनाको अवधिमा दुई नेपाली विद्यार्थीको रहस्यमय मृत्यु हुनु चिन्ताको विषय भएको बताउँदै समितिले भारत सरकारसँग दोषीमाथि कारबाहीको पहल गर्न पनि सरकारलाई भनेको हो ।
बैठकमा शिक्षामन्त्री रघुजी पन्तले घटनाबारे यथार्थ पत्ता लगाउन परराष्ट्र मन्त्रालयसँग निरन्तर समन्वयमा रहेको जानकारी दिँदै कलिंगा इन्स्टिच्यूटमा विद्यार्थी पठाउने एजेन्सीका बारेमा बुझ्ने काम भइरहेको बताए ।
समितिले आगामी दिनमा यस प्रकारका घटना दोहरिन नदिन सरकारलाई समितिले निर्देशन पनि दिएको छ ।
प्रकाशित: २२ वैशाख २०८२ १७:४२ सोमबार