राजनीति

भाडामा बस्नेले होइन, घरधनीले नै बहालकर तिर्नुपर्छ : प्रमुख राई

धरान उपमहानगरपालिकाले नगरवासीहरूलाई घर र जग्गा व्यवस्थापनमा जिम्मेवार बन्न आह्वान गरेको छ। नगर प्रमुख हर्कराज राईले जारी गरेको सार्वजनिक अपिलमा नक्सापास, बहालकर र जग्गा संरक्षणमा जोड दिइएको छ। 

उपमहानगरपालिकाले घर निर्माण गर्दा नक्सापास वा सूचीकरण अनिवार्य गरेको छ। यसले घरहरूको आधिकारिक अभिलेख राख्न सहयोग पुग्ने र राजस्व संकलनमा टेवा पुग्ने नगरपालिकाको भनाइ छ। 

घरधनी र भाडामा बस्नेहरूलाई वडा कार्यालयमा गई भाडा सम्झौताको स्वघोषणा गर्न अनुरोध गरिएको छ। भाडामा बस्नेले होइन, घरधनीले नै बहालकर तिर्नुपर्ने नियमको पालना गर्न आग्रह गरिएको छ। यसबाट राजस्व वृद्धि भई नगरमा सुरक्षा, सेवा र अवसरका लागि राम्रो बजेट बनाउन सकिने अपेक्षा गरिएको छ।

खाली जग्गा हुनेहरूलाई सिमाना यकिन गरी कम्तीमा बाँसको बार लगाउन अनुरोध गरिएको छ। यसले जग्गा मिच्ने, फोहोर फाल्ने वा अरूले प्रयोग गर्ने समस्याबाट संरक्षण हुने नगरपालिकाले जनाएको छ। नगर प्रमुख राईले यी कदमले धरानलाई व्यवस्थित र समृद्ध बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: २२ वैशाख २०८२ १३:२९ सोमबार

#Dharan Sub-Metropolitan City #Harka Sampang #NagarikNews #धरान उपमहानगरपालिका