राजनीति

प्रधानमन्त्री ओली र दाहालबीच के भयो कुराकानी ?

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच टीआरसीबारे कुराकानी भएको छ।

प्रधानमन्त्री ओली र दाहालबीच आइतबार (आज) साँझ सिंहदरबारमा भेटवार्ता भएको थियो। त्यस क्रममा उनीहरूबीच टीआरसीबारे कुराकानी भएको हो।

भेटमा सहभागी माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका अनुसार प्रधानमन्त्री ओलीले टीआरसी प्रक्रियाबारे जानकारी गराएका थिए।

'टीआरसीसम्बन्धी पीडित पक्ष र सरोकारवालाले उठाएका विषय र त्यसबारे भइरहेको प्रक्रियाको विषयमा छलफल भयो। प्रधानमन्त्रीले अहिले भइरहेको प्रक्रियाहरू र पीडितहरूले उहाँसँग उठाएका सरोकारका विषयबारे जानकारी गराउनुभयो,' उनले भने।

पीडित तथा सरोकारवालाहरूले कांग्रेस सभापतिसँग सरोकार राखेको पुनले बताए। 'प्रक्रिया सकारात्मक रूपमा नै अगाडि बढिरहेको हामीले पायौँ। प्रधानमन्त्रीले अध्यक्ष कमरेड प्रचण्डलाई जानकारी गराउनुभयो यसबारे,' उनले भने।

पुनका अनुसार विवादित बनेको सर्च कमिटीबारे पनि दाहालले जिज्ञासा राखेका थिए। त्यसमा पनि सर्वपक्षीय रूपमा समाधान निकालिने जवाफ प्रधानमन्त्री ओलीले दिएको उनले बताए।

प्रकाशित: २१ वैशाख २०८२ १९:१३ आइतबार

#KP Oli ##Pushpa_Kamal_Dahal #केपी शर्मा ओली र पुष्पकमल दाहाल