राजनीति

एमालेले निकालेका यी दुई निष्कर्ष

सत्तारूढ दल नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक बसेको छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार (आज) पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले मुख्यत: दुईवटा निष्कर्ष निकालेको छ।

पहिलो, नीति तथा कार्यक्रम व्यवस्थित र चुस्त। बैठकले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम तुलनात्मक रूपमा पहिलेका भन्दा बढी व्यवस्थित र चुस्त रहेको निष्कर्ष निकालेको छ।

'नीति तथा कार्यक्रम आई नै सकेको छ र त्यो विगतको तुलनामा धेरै व्यवस्थित, चुस्त र दिशा निर्देशका हिसाबले पनि सही भएको बैठकले निष्कर्ष निकालेको छ,' उपमहासचिव प्रदीप ज्ञवालीले भने, 'त्यसमा नेता कमरेडहरूले आगामी नीति तथा कार्यक्रम र बजेट कस्तो हुनुपर्छ भन्नेबारे पनि विचार राख्नुभएको छ।'

दोस्रो, राजनीतिक स्थायित्व र नीतिगत स्थिरताको बाटोमा मुलुक। एमालेले निकालेको दोस्रो निष्कर्ष मुलुक राजनीतिक स्थायित्व र नीतिगत स्थिरता दुबै तवरले सही बाटोमा रहेको छ भन्ने हो।

'मुलुक मूलत: राजनीतिक स्थायित्व र नीतिगत स्थिरताको बाटोमा अगाडि बढिरहेको छ। यद्यपि, यसलाई कमजोर गर्नका लागि विभिन्न पक्षहरू क्रियाशील भइरहेका छन्। तर, त्यो प्रयास सफल नभएको र उल्टै कमजोर बन्दै गएको र मुलुक राजनीतिक स्थायित्वको दिशामा गएको निष्कर्ष निकालेको छ बैठकले,' उनले भने।

प्रकाशित: २१ वैशाख २०८२ १८:२२ आइतबार

#emale #एमाले सचिवालय बैठक