राजनीति

नेपालको आर्थिक विकासमा एनआरएनएको ठूलो हात रहन्छ : दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको आर्थिक विकासमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ठूलो हात रहने बताएका छन्।

आइतबार (आज) काठमाडौंमा आयोजित गैरआवासीय नेपाली सङ्घको एकताको महाधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। 

'तपाईंहरूसँग नेवटर्क छ, अनुभव पनि छ र रिसोर्स पनि छ। नेपालको अहिलेको आर्थिक विकासको निम्ति निकै ठूलो सहयोग पुग्न सक्छ भन्ने मेरो विश्वास छ। सरकार र राजनीतिक नेतृत्वको तर्फबाट तपाईंहरूको हित हुनेगरी कोसिस गर्ने प्रयास रहनेछ,' उनले भने।

दाहालले गैरआवासीय नेपालीहरूको सन्दर्भमा आफू संविधान निर्माणको ताकादेखि नै चिन्तित रहेको बताए। त्यहीअनुसार संविधान बन्दाताका आफू र आफ्नो पार्टीले कुरा उठाएको पनि उनले बताए।

आफू तेस्रोपटक प्रधानमन्त्री बन्दा नागरिकता दिलाउने कोसिससमेत गरेको उल्लेख गर्दै उनले भने, 'संविधानमा सम्भव भएसम्म हामीले सम्बोधन गर्ने कोसिस गर्‍यौँ। संविधानको मूल मर्मअनुरूप नागरिकता दिने काम गर्‍यौँ। कुल आचार्य र बद्री केसी दुई जनालाई नागरिकताको प्रमाणपत्र दिएँ। मेरो लागि पनि त्यो खुसी र गर्वको कुरा थियो र हो,' उनले भने, 'तर, त्यो कागज मात्रै भएको छ, कामकाजी भएको छैन। छिट्टै त्यो बनाइनेछ।'

प्रकाशित: २१ वैशाख २०८२ १७:४३ आइतबार

#पुष्पकमल दाहाल #prachanda