राजनीति

झलनाथको दाबीः माओवादीको कुरा देश फोड्नेसम्मको थियो

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संविधान निर्माणका बेला माओवादीले देश फोड्न सक्ने कुरा गरेको दाबी गरेका छन्। शनिवार नेकपा एसनिकट आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै खनालले यस्तो बताए। 

‘माओवादीले के भन्थ्यो भने यो देशका जति पनि जनजाति छन्, ती जनजाति नै राष्ट्र हुन भन्थ्यो। र, प्रत्येक राष्ट्रलाई आत्मनिर्णयको अधिकार दिनुपर्छ भन्थ्यो,’ खनालले भने, ‘आत्मनिर्णयको अधिकार के हो भन्दा प्रत्येक जातिलाई आफ्नो राज्य आफै बनाउने रे। नेपाल राज्यबाट अलग राज्य बनाउने रे।’ 

यो कुरा सरासर नेपाल फोड्ने कुरा रहेको उनले दाबी गरे। उनले भने, ‘यो त नेपाल फोड्ने कुरा थियो हेर्नुस्। हरेक जातिलाई अलगअलग बनाए।’ 

नेपाल पहिल्यैदेखि सबै जातजातिको साझा राज्य रहेको र सबै जाति मिलेर बनेको नेपाल राष्ट्र भएकाले आफूहरूलाई त्यो स्वीकार नभएको खनालले बताए। 

प्रकाशित: २० वैशाख २०८२ १६:२८ शनिबार

#jhalanath khanal