राजनीति

कश्मिरमा नेपाली मारिँदा पनि मौन रहने संवैधानिक आयोगको कुनै काम छैन : ज्ञानेन्द्र शाही

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भारतको कश्मिरमा नेपाली मारिँदा पनि मौन रहने संवैधानिक आयोगको कुनै काम नभएको टिप्पणी गरेका छन्। 

सामाजिक सञ्जालमा लेख्दै शाहीले यस्तो टिप्पणी गरेका हुन्। उनले भने, 'जब नेपाली मारिँदा संवैधानिक आयोग मौन रहन्छ भने त्यो संवैधानिक आयोगको कुनै काम छैन।'

जुनसुकै बहानामा पनि नेपालीको हत्या हुनु दु;खद भएको बताउँदै आफू यस्तो हत्याका विरुद्ध सदैव उभिरहने शाहीले जिकिर गरे।

उनले लेखेका छन्, 'इराकमा हत्या गरिएका १२ जना नेपालीको कुरा होस् या इजरायलमा प्यालेस्टानीद्वारा हत्या गरिएका १० जना नेपालीको कुरा होस् वा हिन्दु हो भन्दै भारतको जम्मु कश्मिरमा हत्या गरिएका सुदिप न्यौपानेको कुरा होस्। नेपालीलाई हत्या गर्ने जोसुकै होस् म हत्याराका विरुद्धमा छु। म एक्लै भए पनि हत्याराका विरुद्धमा खडा हुन्छ।'

उनले नेपाल सबै धर्मको देश हो भने कुनै एक धर्मको मात्र संवैधानिक आयोग किन छ? भनेर प्रश्न समेत गरे। 'तर एउटा कुरो यदि यो सबै धर्मको देश हो भने कुनै एक धर्मको मात्र संवैधानिक आयोग किन छ? संवैधानिक आयोग नै बनाउने हो भने बुद्धिस्ट आयोग ,किरातँ आयोग ,हिन्दु आयोग पनि बनाउ, सबैलाई समान व्यवहार राज्यले गरोस्। होइन भने एकाध धर्मको आयोग बनाउनुपर्ने कुनै कारण छैन,' उनले भनेका छन्।

प्रकाशित: १८ वैशाख २०८२ २०:४५ बिहीबार