पूर्वप्रधानमन्त्रीत्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले मे दिवस अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिएका छन्।
शुभकामना दिँदै देउवाले दिवसले श्रमिक वर्गमा नयाँ ऊर्जा भर्ने विश्वास लिएका छन्। उनले भनेका छन्, 'श्रमिक मजदुर वर्गको लामो सङ्घर्षपछि आफ्नो अधिकार प्राप्त गरेको यो ऐतिहासिक दिनको सम्पूर्ण श्रमिक मजदुर वर्गमा नयाँ ऊर्जा र उत्साह भर्ने विश्वास लिँदै उहाँहरूको सुख, शान्ति र समृद्धिको पुन: हार्दिक शुभकामना व्यक्त गर्दछु।'
नेपालले युवा जनशक्ति पलायन हुनु परिरहेको स्मरण गराउँदै उनीहरूको रोजगारीको ग्यारेन्टी स्वदेशमै हुनुपर्ने बताएका छन्।
'अहिले ठूलो मात्रामा सक्रिय युवा जनशक्ति श्रमका लागि विदेसिएको छ। स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराई उनीहरूको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन जरुरी छ। अर्कोतर्फ वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको हक, अधिकार, सुविधा र असल श्रम सम्बन्ध सुनिश्चित गर्न सरकार क्रियाशील हुनुपर्दछ। सुरक्षित कार्यथलो, उचित पारिश्रमिक, सामाजिक सुरक्षा, नीति निर्माणमा श्रमिक वर्गको सहभागिता सहित सबै प्रकारका विभेदको अन्त्य गर्दै श्रमिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराउँदछु,' उनले भनेका छन्।
यस्तै खनालले श्रमिक वर्गले नै नेपाली समाजको क्रान्तिकारी रूपान्तरण र परिवर्तनको नेतृत्वदायी शक्तिको भूमिका खेल्न सक्ने बताएका छन्। 'हाम्रो देशमा श्रमिक वर्गले आफ्नो अग्रदूत नेपाल कम्युनिष्ट पार्टी मार्फत नेपालको पुँजीवादी–जनवादी क्रान्तिलाई सफलतापूर्वक सम्पन्न गरिसकेको छ,' उनले भनेका छन्।
उनले जनताको आर्थिक अवस्था सुधार हुनुको सट्टा श्रमिक वर्ग माथि दलाल पुँजीवादी शोषण र उत्पीडन झन्झन् चर्को बन्दै गएको बताएका छन्।
प्रकाशित: १८ वैशाख २०८२ ०८:०४ बिहीबार