राजनीति

रेशम छुटेपछि सिकेले भने: एकता भाँड्ने ठुलो षडयन्त्र भयो, महिमान मोहरा मात्र

जनमत पार्टीका अध्यक्ष सिके राउतले नागरिक उन्मुक्ति पार्टी(नाउपा)का संरक्षक रेशम चौधरीको पक्राउ कर्मचारीको त्रुटि मात्र नभई ठुलो षडयन्त्र रहेको दाबी गरेका छन्। बुधवार डिल्लीबजार कारागारबाट रेशम छुटेपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष राउतले यस्तो बताएका हुन्। 

‘यो हाम्रो एकतालाई भाँड्ने ठुलो प्रयासका रूपमा लिएका छौँ, ठुलो षडयन्त्रको रूपमा लिएका छौँ। यो लोकतान्त्रिक व्यवहार होइन,’ अध्यक्ष राउतले भने, ‘दुइटा पार्टीहरू आदिवासी जनजाति लडिरहेका पार्टी एकीकृत भएर नयाँ शक्ति, ठुलो सशक्त शक्ति बन्न लाग्दा खेरी त्यसलाई भाँड्नका लागि।’ 

दुई पार्टी एकीकरण घोषणा हुनु अगावै पक्राउ पर्नुले त्यो कुरा पुष्टि हुने उनले बताए। उनले भने, ‘त्यो कहाँबाट देखिन्छ भन्दा खेरी एकीकृत घोषणा हुन लागेकै दिन त्यही ठाउँबाट पक्राउ पर्नुले छर्लङ्ग देखिएको छ।’ 

एकीकरण भए रेसमलाई जन्मकैद हुनसक्छ भन्ने चुनौती पनि यो घटनाबाट देखिएको अध्यक्ष राउतले दाबी गरे। ‘त्यो त देखियो एकीकरण भयो भने जन्मकैद नै हुनसक्छ भन्ने देखायो यो घटनाले। त्यो सन्देश स्पष्ट रूपमा दिइयो,’ उनले भने। 

‘यो सामान्य त्रुटि हुँदै होइन, कतै अन्य त्रुटि देख्नुभएको छ सर्वोच्चबाट ?,’ अध्यक्ष राउतले भने, ‘यो सामान्य पक्राउ होइन, कर्मचारीलाई एउटा मोहरा मात्र बनाइएको हो, बिचरालाई। म विचार मात्र भन्न सक्छु।’ यो धेरै माथिबाट भएको षडयन्त्र रहेको उनले दाबी गरे। 

प्रकाशित: १७ वैशाख २०८२ १७:५३ बुधबार

#Dr.CK Raut #Resham Chaudhary #MahimanSingh Bista