प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्र शाहलाई कला क्षेत्रमा लाग्न सुझाव दिँदै राजा हुने सपना नदेख्न चेतावनी दिएका छन्।
बुधबार राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
केही दिनअघि अभिनेत्री सुरक्षा पन्तले एक टेलिभिजन अन्तर्वार्तामा हृदयेन्द्रलाई आकर्षक अनुहार भएको भन्दै फिल्म उद्योगमा आउन सुझाएकी थिइन्।
उक्त भनाइलाई लिएर सामाजिक सञ्जालमा पन्तमाथि आलोचना र आक्रमण भएको छ। प्रधानमन्त्री ओलीले स्वतन्त्र विचार राख्दैमा कलाकारमाथि आक्रमण हुनु दुखद् भएको बताउँदै पन्तको भनाइको समर्थन गरे।
“सुरक्षा पन्तले त राम्रो सुझाव दिइन्। आकर्षक अनुहार छ, कला क्षेत्रमा आए राम्रो हुन्छ भनेकी छन्। त्यसमा रिसाउनु र गाली गर्नुको के अर्थ ?, हेन्डसम केटो कला क्षेत्रमा आए राम्रो हुन्छ।,” उनले भने।
प्रधानमन्त्री ओलीले समाजमा बढ्दो विकृति रोक्न कला क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने जोड दिए।
उनले कलाकारहरूलाई बहिष्कारको धम्कीले कुनै असर नपर्ने भन्दै सृजनात्मक कार्यमा निरन्तर लाग्न आग्रह गरे।
प्रकाशित: १७ वैशाख २०८२ १७:३८ बुधबार