राजनीति

'केपी ओलीकै निर्देशनमा रेशम चौधरी पक्राउ पर्नुभयो'

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन्। डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणा गर्न नेपाल प्रज्ञा प्रतिष्ठान पुगेका चौधरीलाई सादा पोशाकमा खटिएको प्रहरीले पक्राउ गरेको हो।

चौधरीको पक्राउलाई दुबै दल (नागरिक उन्मुक्ति र जनमत)ले 'एकता रोक्ने प्रयासस्वरूप पक्राउ गरिएको' रूपमा व्याख्या गरेका छन्।

जनमतका प्रवक्ता डा.शरदसिंह यादवले पहिचानवादी दलहरूलाई एक ठाउँ आउन नदिनका लागि चौधरीलाई पक्राउ गरिएको दाबी गरे। 'पहिचानवादी दलहरूलाई एक ठाउँ उभिन नदिनका लागि उहाँलाई पक्राउ गरियो,' उनले भने।

यो पनि पढ्नुहोस्

प्रहरी भन्छ: रेशमलाई फैसला कार्यान्वयन गर्न समात्यौँ, डिल्लीबजार जेल पठाइयो

यता नागरिक उन्मुक्तिले पनि यही रूपमा व्याख्या गरेको छ। प्रवक्ता दामोदर पण्डितले भने, 'एकता गर्न नदिनका लागि प्रपञ्च रचित गरियो।'उनले ठूला दलहरू विशेषत: कांग्रेस, एमाले र माओवादी दुई पार्टीबीच एकता नहोस् भन्ने पक्षमा रहेको बताए।

'यो देशका ठूला पार्टीहरू खासगरी कांग्रेस, एमाले र माओवादी नागरिक उन्मुक्ति र जनमत एक ठाउँमा नआऊन् भन्ने चाहन्थे र अझै पनि चाहन्छन्। त्यसकै परिणाम आज देखियो,'उनले भने।

नागरिक उन्मुक्तिकै अर्का एक नेता भने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा चौधरी पक्राउ परेको दाबी गर्छन्। ती नेताले भने, 'केपी ओलीकै निर्देशनपछि उहाँ (रेशम चौधरी) पक्राउ पर्नुभयो।'

यो पनि पढ्नुहोस्

सरकार छाड्दै नागरिक उन्मुक्ति

प्रकाशित: १७ वैशाख २०८२ १५:०६ बुधबार