राजनीति

बौद्ध शिक्षा संसारभर फैलाउनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्व र द्वेष बढेको वर्तमान अवस्थामा बैद्धधर्मका प्रवर्तक महात्मा बुद्धद्वारा प्रतिपादित शान्तिको मार्गमा हिँड्न सबैलाई प्रेरित गर्नुपर्नेमा जोड दिएका छन्।

साथै उनले बुद्धले देखाएको अहिंसा र शान्तिको मार्गलाई संसारभर फैलाउने बेला आएको पनि बताए। बुद्ध जन्मस्थल लुम्बिनीमा शनिबारदेखि सुरु भएको चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस किसिमका कार्यक्रमले लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध दर्शन र शिक्षाको अझ ठूलो केन्द्रबिन्दु बनाउन सहयोगी हुने विश्वास व्यक्त गरे।

“संसारमा खतरनाक हतियार निर्माण भएका छन्, युद्ध र हिंसाबाट शान्ति स्थापना हुँदैन”, प्रधानमन्त्री ओलीले भने।

उनले बौद्ध धर्म, कला, साहित्य, इतिहास, अनुसन्धान र अन्तरसंवादका माध्यमबाट एसियाली बौद्धसंस्कृति र सम्पदाको प्रवर्द्धन गरी विश्वशान्ति स्थापनामा महोत्सवबाट सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री ओलीले दुनियाँमा अशान्ति मच्चिरहेका बेला नेपालको अगुवाइमा गौतमबद्धले देखाएका अहिंसा, शान्ति, मानवता र करुणा विस्तार भइरहेको सुनाए।

उनले लुम्बिनीमा बुद्धका विचारहरूका बारेमा शिक्षा ग्रहण गर्ने, प्रवचन दिने, मन्थन गर्ने, ध्यान विपश्यना गर्नेजस्ता कार्यक्रमका लागि उपयुक्त स्थानको व्यवस्था गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको ध्यानाकर्षण गराए।

बौद्ध संस्कृति, चिनियाँ संस्कृति, कला, परम्परागत बौद्ध चिकित्सा तथा बौद्ध शिक्षामा केन्द्रित रहेर ४० वटा कार्यपत्र महोत्सवमा प्रस्तुत गरिने जनाइएको छ।

महोत्सवमा ४० देशका प्रतिनिधि सहभागी छन्। महोत्सव बौद्ध दर्शन र संस्कृतिको प्रवर्द्धन गरी विश्वमाशान्ति, सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले लुम्बिनी विकास कोष, सारिपुत्र फाउण्डेशन नेपाल र चिनियाँ संस्कृति प्रवर्द्धन समाजले आयोजना गरेको हो।

प्रकाशित: १३ वैशाख २०८२ १५:१८ शनिबार