शुक्रबारबाट संघीय संसद्को बजेट(बर्खे) अधिवेशन सुरु भएको छ। संसद् अधिवेशन सुरुको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी गरेका थिए। तर, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गोरखाको बारपाकमा रहेकाले प्रधानमन्त्री ओलीले पहिलो दिन सम्बोधन गरेनन्।
यद्यपि संसद् बैठकमा भने प्रधानमन्त्री ओली सहभागी भएका थिए। प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेता बैठकमा बोल्ने कार्यक्रम नभएपछि पहिलो दिन दलीय आधारमा अन्य नेताहरूले बैठकलाई सम्बोधन गरे।
बैठक सकिएपछि प्रधानमन्त्री ओली संसद् भवनबाट बाहिरिँदा भने पत्रकारका केही तिखा प्रश्नको सामना गर्नपर्यो।
पछिल्लो समय सरकार परिवर्तनको हल्लाले राष्ट्रिय राजनीति गर्माएको छ। जसमा विपक्षी दलका नेता दाहालका अभिव्यक्तिले त्यसमा मसला प्रदान गरिरहेको छ भने कांग्रेसका प्रभावशाली नेताहरूले सरकारको आलोचना गर्दा त्यसमा तड्का लागिरहेको छ।
यही सेरोफेरोमा पत्रकारका प्रश्न प्रधानमन्त्री ओलीसामु तेर्सिए। भवनको ढोकाबाट बाहिरिन लागेका उनीसमक्ष पहिलो प्रश्न तेर्सियो–प्रधानमन्त्री ज्यू बजेट त यही सरकारले ल्याउँछ नि? जसको उत्तर उनले दिएनन्, कुटिल मुस्कान दिएर पन्छिँदै अघि बढे।
फेरी अर्को प्रश्न तेर्सियो–प्रचण्ड जीले शेरबहादुर जीलाई जाल फ्याँकिरहनुभएको छ, नयाँ सरकार बनाउने भनेर। के गर्नुहुन्छ?
त्यसको पनि उनले जवाफ नदिई गाडीभित्र पसे। त्यसपछि अर्का पत्रकारले सोधे–प्रधानमन्त्री ज्यु केही पनि आएन नि?
गाडीभित्र पसिसकेका प्रधानमन्त्री ओलीको त्यसपछि मुख खुल्यो। उनले भने, ‘१४ महिनापछि म राजीनामा दिन्छु, अनि शेरबहादुर जी प्रधानमन्त्री बन्नुहुन्छ।’
प्रकाशित: १२ वैशाख २०८२ १७:४५ शुक्रबार