राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनलाई राजावादीहरूको हिंसात्मक प्रदर्शन भनेर भाष्य निर्माण गर्न खोजेको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभामा बोल्दै लिङदेनले तीनकुनेको प्रदर्शन हिंसात्मक थियो भने आजसम्म प्रदर्शनकारीबाट एउटा लट्ठीसम्म किन पक्रन नसकेको भन्दै प्रश्न समेत गरे।
उनले भने, 'चैत १५ गते तीनकुनेको घटनालाई राजावादीहरूको हिंसात्मक घटना भनेर भाष्य निर्माण गरिरहनु भएको छ। यदि त्यो हिंसात्मक प्रदर्शन थियो भने आजसम्म पनि तपाईँहरूले प्रदर्शनकारीहरूबाट एउटा लट्ठीसम्म किन पक्रनु भएन । म यहाँ प्रश्न गर्छु। त्यो हिंसात्मक हुन प्रदर्शनकारीसँग बन्दुक हुनुपर्थ्यो। खुकुरी हुनुपर्थ्यो, खुँडा हुनुपर्थ्यो। तपाईँहरूले केही पक्रनुभयो। तपाईँहरूले केही पक्रनु भयो। त्यहाँ ७४६ राउण्ड अश्रुग्याँस, २५० भन्दा बढी गोली चल्यो के त्यो दुर्गा प्रसाईंले, रविन्द्र मिश्र, धवल शमशेरहरूले चलाएका हुन् ? कति राउण्ड प्रदर्शनकारीले चलाए ? गृहमन्त्रीलाई भन्न चाहन्छु तपाईँहरू प्रजातन्त्रको पक्षमा हुनुहुन्छ न्यायको पक्षमा हुनुहुन्छ भने । रविन्द्र मिश्र लगायतका मानिसहरूलाई छोड्नु। न्यायिक समिति गठन गरेर सत्यतथ्य बाहिर ल्याउनुस्।'
प्रकाशित: १२ वैशाख २०८२ १५:१३ शुक्रबार