राजनीति

माओवादीको टिप्पणी: हामीले १८ वर्षसम्म चिर्न नसकेको राजतन्त्रको भ्रम एकै दिनमा साफ भयो

नेकपा माओवादी केन्द्रले आफूले १८ वर्षसम्म चिर्न नसकेको राजतन्त्रको भ्रम तीनकुने घटनामा एकै दिन साफ भएको टिप्पणी गरेको छ। बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले यस्तो टिप्पणी गरेका हुन्। 

‘प्रतिगमनविरुद्ध हामी आफ्नै किसिमले गइरहेका छौँ। हाम्रो कार्यक्रम यति प्रभावकारी भएको कि अस्ति चैत १५ गते.. कुनै दिनले पाँच वर्ष, १० वर्ष र १५ वर्षसम्मको नेतृत्व गर्छन् रे,’ सापकोटाले भने,‘हामीले १८ वर्षसम्म राजतन्त्रबारे चिर्न नसकेको भ्रम एक दिनमा साफ भयो।’

त्यो घटनामा पछिल्लो पुस्ताले राजतन्त्र, कम्युनिस्ट र समाजवादीबारे बुझ्ने मौका पाएको पनि उनले बताए। उनले भने, ‘पछिल्लो पुस्ता जो जनयुद्धको थालनी हुने क्रममा र पछि जन्मेकाहरूले के रहेछ राजतन्त्र ? कस्तो हुने रहेछ राजतन्त्र? र कस्तो हुने रहेछ कम्युनिस्टहरू, समाजवादीहरू ? उताको सभा लाखौँको उपस्थिति छ, भद्र, शालीन, सौम्य छ। यता तोडफोड, आतङ्क यी सबै छन्।’ यस कारण तुलना गर्ने मौका पाएको उनले बताए। जनताले कुरा भन्दा तुलनात्मक घटनाक्रम हेरेर मूल्यांकन गर्ने पनि उनले बताए। 

गणतन्त्र ल्याउने कुराको नेतृत्व माओवादीले नै लिएको दाबी गर्दै यसको रक्षाको माया सबैभन्दा बढी आफूहरूलाई नै भएको भन्दै त्यसको पहलकदमी लिइरहेको पनि सापकोटाले बताए। 

प्रकाशित: १० वैशाख २०८२ १४:५६ बुधबार

#CPN Maoist Center #Agni Prasad Sapkota