राजनीति

कांग्रेस कार्यवाहक सभापति भन्छन्ः सभापतिले प्रधानमन्त्रीलाई कार्यशैली सच्याउन भन्नुभएको छ

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति शेरबहादुर देउवाले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्यशैली सुधार्न सुझाव दिइसकेको बताएका छन्। बुधबार पार्टीनिकट यातायात व्यवसायीको महाधिवेशनलाई सम्बोधन गर्दै कार्यवाहक सभापति खड्काले यस्तो बताएका हुन्। 

‘सभापतिले पनि भन्दै आउनुभएको छ, सरकारको कार्यशैलीमा सुधार गर्नुपर्ने आवश्यक छ । त्यसलाई सच्याउनुपर्छ,’ खड्काले भने, ‘प्रधानमन्त्रीलाई हामीले भनेका छौँ, नागरिकको भावनालाई बुझेर बाहिर देखिएको असन्तुष्टिलाई सम्बोधन गर्ने गरी अघि बढ्नुपर्छ ।’

दुई दलबिच गठबन्धन गर्दा भएको सहमतिअनुसार संविधान संशोधन प्रक्रिया सुरु गर्न ढिलाइ भइरहेको पनि खड्काले बताए।  उनले भने, ‘संविधान संशोधनको काम अघि बढाउन ढिला भएको छ । संयन्त्रमा म छु । पार्टीको तर्फबाट, त्यहाँ ढिलासुस्ती भएको छ, त्यो स्वीकार्दा केही अप्ठ्यारो मान्नुपर्ने छैन ।’ 

अब चाँडै नै सहमतिका आधारमा कांग्रेस र एमालेको बिचमा कार्यदल बनाएर छलफल सुरु गर्ने उनले बताए। ‘कार्यदलले दुई दलको बीचमा आन्तरिक छलफल गरेर आधार तयार गर्ने, त्यो आधारको जगमा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र र संसद्मा रहेका अन्य दलहरूसँग संवाद गर्ने’, उनले भने। 

संविधान संशोधन गर्दा समावेशिता, समानुपातिक प्रतिनिधित्वलगायत जनताले प्राप्त गरेको अधिकार नघट्ने गरी गरिने पनि खड्काले बताए। 

प्रकाशित: १० वैशाख २०८२ १४:०१ बुधबार

#Purna Bdr Khadka #KP Sharma Oli #Sher Bahadur Deuba