राजनीति

नयाँ शिक्षामन्त्री को ?

प्रधानमन्त्रीसँग सन्तुष्ट थिइनन् भट्टराई

शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। शिक्षक आन्दोलनको बीसौं दिन उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएकी हुन्।

भट्टराईको राजीनामासँगै नयाँ शिक्षामन्त्रीको खोजी हुन थालेको छ। यसबारे नागरिकले नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलालाई सोध्यो। जवाफमा उनले भनेका छन्, 'नयाँ शिक्षामन्त्री को हुने भन्नेबारे टुङ्गिन केही दिन लाग्ला। त्यो प्रधानमन्त्रीज्यूले लिने निर्णय हो, आवश्यक छलफल गर्छौँ।'

विद्या भट्टराई।

भट्टराई नै पनि रहन सक्ने बर्तौलाले बताए। नयैँ ल्याउनुपर्ने अवस्था आए पनि केही दिन समय लाग्ने उनले बताए। 'एमालेबाटै हुन्छ तर, कहिलेसम्म भन्नेबारे अहिल्यै केही भन्न सकिँदैन। प्रधानमन्त्रीज्यूले आफूलाई सहज लाग्ने र आफूसँग सहकार्य गर्न सक्ने ल्याउनुहोला,' उनले भने।

एमालेबाट नयाँ शिक्षामन्त्रीमा अञ्जान शाक्य, पदम गिरीलगायतको आकाङ्क्षा रहको बताइन्छ। कतिपय एमाले नेताहरूले भने महिला नै हुनुपर्ने पनि बताएका छन्। 

प्रधानमन्त्री र सभामुखसँग सन्तुष्ट थिइनन् भट्टराई

त्यसो त भट्टराई प्रधानमन्त्री ओलीसँग सन्तुष्ट थिइनन्। २०८१ चैत २० गतेयता निरन्तर आन्दोलनरत शिक्षकहरूको मागको सन्दर्भलाई लिएर भट्टराई प्रधानमन्त्री ओलीबाट आफूलाई चाहिँदो सहयोग नभएको निष्कर्षमा पुगेकी थिइन्। 

यसअघि हिमालय टेलिभिजनमा दिएको अन्तर्वार्ताका क्रममा उनले यही आशयको अभिव्यक्ति दिँदै राजीनामा दिन सक्ने बताएकी थिइन्। 

प्रधानमन्त्री केपी शर्मा ओली।

उनले शिक्षकहरूको मागको सम्बोधनका लागि प्रधानमन्त्री ओलीसँग मात्रै होइन, सभामुख देवराज घिमिरेसँग पनि वार्ता गरिन्। तर, सभामुख घिमिरेले संसद्को यो अधिवेशनमा शिक्षकहरूको माग पूरा गर्न नसकिने ठाडो जवाफ दिए।

उता प्रधानमन्त्री ओली पनि शिक्षकहरूको मागको सन्दर्भमा सकारात्मक सुनिँदैनन्। विभिन्न सार्वजनिक मञ्चहरूमार्फत शिक्षकहरूलाई 'विद्यालय फर्किहाल्नू' आशयका निर्देशन दिने गरेका ओलीले सबै माग सम्बोधन गर्न नसकिने दोहोर्‍याउँदै आएका थिए।

शिक्षकहरूको दबाब र प्रधानमन्त्री तथा सभामुखको अड्डीको चेपुवामा परेका भट्टराईले अन्तत: राजीनामा नै दिइन्।

यो पनि पढ्नुहोस्

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

 

प्रकाशित: ८ वैशाख २०८२ १८:२७ सोमबार

#Bidya Bhandari