राजनीति

राँके जुलुस निकालेका चार राप्रपा नेता पक्राउ

राँके जुलुस निकालेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार नेता पक्राउ परेका छन्। उनीहरूलाई प्रहरीले विराटनगरको जलजला चोकबाट पक्राउ गरेको हो।

आइतबार (आज) साँझ राँके जुलुस निकाल्ने क्रममा राप्रपा मोरङका जिल्ला सदस्यहरू शम्भु भट्टराई, उदेश पन्त, समन चौहान र अजय झालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ गरिएका उनीहरूलाई वडा प्रहरी कार्यालयमा राखिएको मोरङ प्रहरीले जनाएको छ।

काठमाडौंमा आफ्ना नेताहरूलाई गिरफ्तार गरिएको भन्दै विरोधस्वरूप राँके जुलुस निकालेका उनीहरू पक्राउ परेका हुन्।

जलजला चोकबाट निस्किएका उनीहरूको जुलुस हनुमान मन्दिर चोक पुगेर समापन भएको थियो। सूचना नदिइ विरोध कार्यक्रम गरेका कारण गिरफ्तार गरिएको मोरङका प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले बताएका छन्।

राप्रपाले आज काठमाडौंमा निषेधित क्षेत्र तोड्ने प्रदर्शनको आयोजना गरेको थियो। उक्त प्रदर्शनमा सहभागी हुने क्रममा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू सिंहदरबारभित्रै पक्राउ परेका थिए।

प्रकाशित: ७ वैशाख २०८२ २०:२६ आइतबार