राजनीति

पाथीभरा केबलकार विवाद: ताप्लेजुङमा शौचालय गएका योगेशलाई घेरेर नाराबाजी

नेकपा एमालेका सचिव योगेश भट्टराई गृह जिल्ला ताप्लेजुङ गएका बेला ‘नो केबलकार’ समूहले उनी विरुद्ध नाराबाजी गरेको छ। कञ्चनजङ्घा हिमालमा मानव पाइला परेको ‘हीरक महोत्सव’का अवसरमा सचिव भट्टराई ताप्लेजुङ पुगेका थिए। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेसँगै भट्टराई हेलिकप्टरमार्फत ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेप पुगेका थिए। शुक्रवार कार्यक्रम सकेर मन्त्री पाण्डे फर्किसकेपछि भट्टराई कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को शौचालय गएका थिए। 

भट्टराई शौचालय पुगेलगत्ते ८/१० जनाको संख्यामा रहेको पाथीभरा केबलकारको विरोध गरिरहेको ‘नो केबलकार समूह’ र ‘पहिचानवादी समूह’ले नाराबाजी गरेको हो। जसबाट उनी केही बेर शौचालयमा थुनिन पुगेका थिए। 

भट्टराई विरुद्ध नाराबाजी भएको खबर ताप्लेजुङ प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलले पुष्टि गरे। ‘उहाँ विरुद्ध ८/१० को टोलीमा रहेका व्यक्तिहरूले केही बेर नाराबाजी गरेका थिए। त्यस्तो अन्य कुनै घटना भएको थिएन। न त्यसको फोटो, भिडिओ केही आएका छन्,’ उनले भने, ‘तर, अहिले विभिन्न खाले समाचार आएजस्तो केही भएको भने होइन।’ 

नाराबाजी भएपछि प्रहरी चनाखो भएर थप सुरक्षा व्यवस्था गर्दै भट्टराईलाई सुरक्षित स्थान लगेर काठमाडौं पठाइसकेको छ। 

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयमा त्यहाँका पहिचान पक्षधरहरूले पछिल्लो समय आन्दोलन गरिरहँदा स्थिति असामान्य बन्दै आएको छ।

प्रकाशित: ६ वैशाख २०८२ १४:१५ शनिबार

#No cable Car Protest #Pathibhara cable car #Yogesh Bhattarai