राजनीति

एमाले विराटनगर महानगर कमिटीको अध्यक्षमा भण्डारी पक्षका गिरीकाे प्यानल निर्वाचित

नेकपा (एमाले) विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा बलराम गिरी (नवीन) निर्वाचित भएका छन्।

विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालयमा मतगणना गरेर शुक्रबार बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार केपी ओली पक्षका प्रतिस्पर्धी रोहित कोइरालालाई ५२ मतान्तरले पछि पार्दै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पक्षका गिरी निर्वाचित भएका हुन्। उनले १ सय ७३ मत पाउँदा कोइरालाले १ सय २१ मत पाए।

एमाले महानगर कमिटीको पदाधिकारीमा गिरी समूहको प्यानल नै विजयी भएको छ। उपाध्यक्षमा सुवासप्रसाद न्यौपाने (सुरज), सचिवमा विज्ञान शर्मा चापागाईं, उपसचिवमा हमिद आजाद, महिला उपसचिवमा हिमा मैनाली पोखरेल निर्वाचित भए। एमाले विराटनगरको दोस्रो अधिवेशन पाञ्चालीस्थित पार्टी कार्यालयमा वैशाख २ गतेबाट सुरु भएको थियो।

बुधबार निर्वाचन हुने भनिए पनि विवादका कारण बन्दसत्र स्थगित भएको थियो। अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। नेतृत्वका लागि २ समूह प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।अधिवेशनका लागि ३ सय १४ जना प्रतिनिधि थिए। बिहीबार राति मतदान सकिँदा ३ सय ८ मत खसेको थियो।

प्रकाशित: ५ वैशाख २०८२ ०७:३६ शुक्रबार