राजनीति

पूर्वराष्ट्रपतिको टिप्पणीबारे जगमानको खण्डनः म उचालिने र पछारिने मान्छे होइन

राजसंस्था पुनः स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले आफू कसैले उचालेर उचालिने र पछारेर पछारिने मान्छे नभएको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गुरुङले यस्तो बताएका हुन्।

‘पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जगमान गुरुङलाई  राजा उचाल्न पठाएको भन्ने अभिव्यक्ति पनि देखेँ,’ गुरुङले लेखेका छन्, ‘म कसैले उचालेर उचालिनी र पछारेर पछारिनी मान्छे होइन।’

गुरुङले आफ्नो नाम र फोटो राखेर वैशाख २२ गते श्री ५ ज्ञानेन्द्रको राज्याभिषेक गर्न आउनोस् भनेर पोस्ट गरेको पनि देखेको उल्लेख गरेका छन्। ‘उत्ताउलो कुकुर सम्साँझै भुक्छ भने जस्तै म त्यस्तो उत्ताउलो काम कुरा गर्ने मान्छे पनि होइन। त्यस कारण मैले त्यस प्रकारको आह्वान गरेको पनि छैन।परी आएको खण्डमा म स्वयंले श्रव्य दृश्य माध्यमबाट आह्वान गर्ने छु,’ गुरुङले लेखेका छन्।  

आफूमा उत्ताउलो र उत्तेजितपन हुननहुने र धीर उदात्त र सत्कर्ममा नै आफ्नो  भविष्य र सफलता निहित रहेको उनले लेखेका छन्। उनले अगाडि लेखेका छन्, ‘त्यसकारण मेरो नामबाट त्यस्तो अनर्गल र सस्तो लोकप्रियताका लागि प्रचार प्रसार नगर्न सबैलाई अनुरोध गर्दछु। त्यस्तो अनर्गल प्रचार प्रसारको पछि नलाग्न पनि सबैलाई सचेत गराउँदछु।’

प्रकाशित: २ वैशाख २०८२ १३:५५ मंगलबार

#Dr Jagaman Gurung #Bidhaya Devi Bhandari