राजनीति

मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा जुडशीतल तथा सिरुवा पर्वको शुभकामना

मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रकृतिप्रति संवेदनशीलता अभिवृद्धि गर्ने लोकपर्व जुडशीतल सिरुवा पर्वका अवसरमा सुख समृद्धि, आरोग्य, शीतलता तथा दीर्घजीवनको कामनासहित शुभकामना सन्देश दिएका छन्।

आज एक शुभकामना सन्देश जारी गर्दै उनले प्रायःजसो धार्मिक तथा सांस्कृतिक पर्व प्राकृतिक परिवर्तन र पर्यावरण संरक्षणसँग सम्बन्धित रहेको उल्लेख गरेका छन्। सन्देशमा भनिएको छ, 'हाम्रो धार्मिक कृत्य नै प्रकृतिप्रधान र ऋतुप्रेरित रहँदै आएको छ। ऋतुअनुसारको जीवनशैली नै मानजीवनलाई सुसगङ्त तथा सार्थक तुल्याउने छ।'

जुडशीतल सिरुवा पर्वले पर्यावरण संरक्षण तथा भूमण्डलीय उष्णता न्यूनीकरणको परम्परागत चेतना, ज्ञान र विधिलाई पुस्ता दरपुस्ता हस्तान्तरण गर्दै आएको सन्देशमा उल्लेख छ। सन्देशमा भनिएको छ, 'लवायु परिवर्तन, ग्रिनहाउस ग्यासको प्रभाव, जैविक विविधताको सङ्कट तथा प्रदूषण नियन्त्रणजस्ता पर्यावरणीय मुद्दा चुनौती बनिरहेका बेला अत्यन्त सुक्ष्म तथा व्यावहारिक तवरले सबै खालका पर्यावरण तथा तिनका संरचना संरक्षणप्रति जुडशीतल सिरुवा पर्वले दायित्वबोध गराउँदै आएको छ। गर्मीको प्रभावबाट जोगिन आहार र व्यवहार दुवैमा परिर्वतन गर्नुपर्ने तथा प्राणी र वनस्पति दुवैमा समान अस्तित्वको स्वीकारोक्तिका साथ प्रकृतिको संरक्षण प्रयासमा सहभागी हुनुपर्नेजस्ता सन्देश प्रवाहित गर्ने यो पर्वका सबै विधिमा पारिस्थितिकीय प्रणाली र जैविक विविधताप्रति सचेतना अपनाउने चेष्टा अन्तर्निहित रहेको छ।'

मुख्यमन्त्रीले शुभकामना सन्देशका आफ्ना ज्येष्ठ मान्यजनबाट टाउकोमा चिसो पानी थापेर आशीर्वाद ग्रहण गर्ने, रुखबिरुवामा जलसिञ्चन, जलका स्रोतहरूको सरसफाइलगायत उद्धारकार्य तथा हिलोमाटो खेल्ने यो पर्वको वैज्ञानिक अर्थ र महत्वलाई अनुशीलन गर्ने विवेक एवं शक्ति प्राप्त होस् भन्ने कामनासमेत उल्लेख गरेका छन्।

प्रकाशित: २ वैशाख २०८२ ११:४९ मंगलबार