राजनीति

पोखरेलको आह्वान: अब समय आयो, विकास र समृद्धिमा बहस गरौं

नेकपा एमालेका महासचिव शंकर पोखरेलले शिक्षा क्षेत्रमा सुधार र समृद्धिको बहस सुरु गर्न आह्वान गरेका छन्।

शनिबार साँझ सामाजिक सञ्जालमार्फत पोखरेलले अहिले प्रतिगमनको हर्कत सिथिल भइसकेको र आन्दोलनरत शिक्षकहरूसँग वार्ता सुरु भएकाले अब नीति, कार्यक्रम र बजेटका प्राथमिकता पहिचान गर्दै सरकारलाई सुझाव दिने समय आएको बताए।

उनले विकास र समृद्धिको विषयमा बहस गर्न सबैलाई आह्वान गरे। पोखरेलले ‘बहस श्रृंखला १: शिक्षा क्षेत्र’ शीर्षकमा वर्तमान शिक्षा प्रणालीका समस्याहरू औंल्याउँदै प्रमाणपत्रमुखी अध्ययन–अध्यापन, जागिरमुखी चिन्तन र मनोविज्ञानको विकास तथा व्यवहारिक र प्रविधिमैत्री सीप र व्यवस्थापकीय क्षमताको अभावलाई मुख्य समस्या रूपमा उल्लेख गरेका छन्।

यस्ता समस्याको समाधानका लागि उनले राष्ट्रिय उत्पादन पद्धतिअनुकूल जनशक्ति विकासमा जोड दिनुपर्ने, कार्यक्षमता अभिवृद्धि हुनेगरी पाठ्यक्रम र पाठ्यपुस्तकमा परिमार्जन गर्ने, उद्यमशीलता र स्वरोजगारलाई प्राथमिकता दिने, इ–लर्निङ र डिजिटल पहुँच अभिवृद्धि गर्ने तथा ‘लर्निङ बाई डुइङ’ अवधारणाका आधारमा शिक्षकको भूमिकालाई सहजकर्तामा रुपान्तरण गर्नुपर्ने सुझाव दिएका छन्।

पोखरेलले यदि कसैसँग फरक मत वा विचार भए, त्यसलाई समेत खुला रूपमा प्रस्तुत गर्न आग्रह गरे।

प्रकाशित: ३० चैत्र २०८१ २०:२२ शनिबार