प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) नै नेपालको समृद्धि र स्थायित्वको आधार भएको बताएका छन्।
झापाको दमकमा शनिबार आयोजित एमाले झापा जिल्ला कमिटीको जागरण सभालाई सम्बोधन गर्दै उनले एमालेको नेतृत्वबिना देशको भविष्य सम्भव नभएको दाबी गरे।
“एमाले जनतामा आधारित पार्टी हो। हाम्रो सफलता देशको सफलता हो, र हाम्रो असफलताले देशलाई पछाडि धकेल्छ। हामीले स्थिरता र विकासको अठोट लिएका छौं,” प्रधानमन्त्री ओलीले भने।
उनले ठूला दलहरूको सहकार्यमा बनेको सरकारले कानुनको शासन र सुशासनलाई प्राथमिकता दिएको उल्लेख गरे।
प्रधानमन्त्रीले अस्थिरता र अराजकता फैलाउने तत्वहरूलाई जनताले अस्वीकार गरिसकेको बताउँदै भने “आन्दोलनको नाममा हिंसा र लुटपाट गर्नेहरूलाई जनताले पत्याएका छैनन्। तीनकुनेको अराजक घटनाले यस्ता तत्वहरूको अनुहार उदांगो भएको छ।”
आगामी बजेटमा कृषिको आधुनिकीकरण, उद्यमशीलता प्रवर्द्धन र निजी क्षेत्रको सहभागितालाई जोड दिइने ओलीले सुनाए।
“रोकिएका आयोजनाहरू अगाडि बढ्छन्। भूमिहीन र सुकुम्बासीका समस्या समाधान गर्न संसद्को आगामी अधिवेशनमा कानुन ल्याउँछौँ,” उनले प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित: ३० चैत्र २०८१ १६:५४ शनिबार