राजनीति

एमालेको नेतृत्वबिना समृद्धि हुँदैन: ओली

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको नेतृत्वबिना नेपालको समृद्धिको सपना पूरा नहुने बताएका छन्।

झापाको दमकमा शनिबार आयोजित एमाले झापा जिल्ला कमिटीको जागरण सभालाई सम्बोधन गर्दै उनद एमालेविनाको नेपालको परिकल्पना गर्नेहरूको मनसाय देशको हितविपरीत भएको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले देशलाई स्थायित्व, विकास र सुशासनको बाटोमा लैजान एमालेको भूमिका अपरिहार्य रहेको जिकिर गरे।

“हामीले ठूला दलहरूको सहकार्यमा सरकार गठन गरेका छौँ। यो सरकारले कानुनको शासन र विकासलाई प्राथमिकता दिएको छ,” उनले भने।

उनले विगतमा अस्थिरता र अराजकता फैलाउने तत्वहरूले जनताको विश्वास गुमाइसकेको दाबी गरे। आगामी बजेटमा कृषिको आधुनिकीकरण, उद्यमशीलता प्रवर्द्धन र निजी क्षेत्रको सहभागितालाई जोड दिइने उनले सुनाए।

“रोकिएका आयोजनाहरू अगाडि बढ्छन्। भूमिहीन र सुकुम्बासीका समस्या समाधान गर्न संसद्को आगामी अधिवेशनमा कानुन ल्याउँछौँ,” ओलीले प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: ३० चैत्र २०८१ १६:४५ शनिबार