राजनीति

आदित्यनाथबारे देउवाले गरे आफ्नै भनाइको खण्डन

‘आदित्यनाथ दूतावास गएका होइनन्, हाम्रा राजदूतले भेटेका हुन्’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही दिनअघि भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबारे दिएको आफ्नै अभिव्यक्तिको खण्डन गरेका छन्। शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा देउवाले आफ्नो भनाई खण्डन गरेका हुन्। 

‘अस्ति मैले बोल्दा गलत सूचनाको आधारमा भारतका उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा बोल्न पुगेछु । त्यसमा भन्न चाहन्छु मैले,’ सभापति देउवाले भने,‘उहाँले दिल्लीको राजदूतावासमा आउनुभएको होइन, दिल्लीको राजदूतले उहाँलाई भेट्न जाँदा भएको कुरा हो।’ 

आदित्यनाथले ‘हामी नेपालमा राजाको पक्षमा छैनौँ, यो बेकारको हल्ला हो, मेरो फोटो छापे पनि त्यो होइन भन्नुभएको हो’ भनेको तथ्य भने सही नै रहेको देउवाले बताए। ‘उहाँ दूतावासमा आउनुभएको होइन । यो पनि म खण्डन गर्न चाहन्छु,’ देउवाले भने।

केही दिनअघि भारतीय नेताहरू समेतको उपस्थितिमा आयोजित एक कार्यक्रममा देउवाले राजावादी आन्दोलनमा भारतको भूमिका विषयमा विभिन्न कुराहरू सुनिए पनि भारत नेपालको गणतन्त्रसँगै रहेको बताएका थिए। सोही कार्यक्रममा राजावादीहरूले ‘आदित्यनाथको फोटो समेत राखेर प्रदर्शन’ गरेको प्रशंगमा उनले  आदित्यनाथले आफै दूतावास पुगेर त्यो विषय खण्डन गरेको बताएका थिए। ‘भारतमा हाम्रो दूतावास छ, आदित्यनाथजी दूतावासमै गएर झुटा कुरा हो, नेपालमा मेरो कुनै हात छैन । नेपाली जनता जे चाहन्छन् त्यही हुन्छ । हामी राजा ल्याउने पक्षमा छैनौँ भनेर आफैले भनेको कुराले हामीलाई के लागेको छ भने अवश्य नै भारत नेपालसित छ। गणतन्त्रसित छ। प्रजातन्त्रसित छ। खिलाफमा छैन भन्ने हामीलाई लागेको छ’, भनेर भनेका थिए। 

त्यही कुराको देउवाले शनिवार खण्डन गरेका हुन्। देउवाले खण्डन गरेर भनेको तथ्यजस्तै फागुन २५ गते पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतमा राजावादीले गरेको र्‍यालीमा योगी आदित्यनाथको तस्बिर समेत प्रदर्शन भएपछि दिल्लीस्थित नेपाली राजदूत शङ्कर शर्माले योगी आदित्यनाथलाई भेटेको परराष्ट्र स्रोत बताउँछ। 

नेपाली राजदूत शर्मासँग आदित्यनाथले आफ्नो राजावादी आन्दोलनसँग कुनै साइनो नभएको र पोजिसन पनि नभएको प्रतिक्रिया दिएका थिए।

प्रकाशित: ३० चैत्र २०८१ १३:२७ शनिबार

#Sher Bahadur Deuba #Yogi aadityanath