प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई आफ्नो मात्र हित नहेरी देशको आर्थिक अवस्था र राष्ट्रको क्षमता विचार गर्न आग्रह गरेका छन्। शुक्रवार नेकपा (एमाले) को बुटवल सभामा बोल्दै उनले शिक्षकहरू भावनामा बग्दा समस्या समाधान नहुने बताए।
उनले भने, ‘शिक्षकहरू प्रदर्शनमा हुनुहुन्छ। मैले अस्ति पनि भनेको थिए। प्रदर्शनमा गइरहनुपर्ने थिएन। ऐन पहिलेदेखि रोकिएर बसेको छ। त्यसलाई हामी तुरुन्तै ल्याउँछौँ भनेर भनिराखेका छौँ। उपयुक्त ढंगले ऐन ल्याउँछौँ।’
उनले थपे, ‘आफ्ना मात्रै हितहरुलाई हेरेर हुँदन, राष्ट्रहित कसरी हुन्छ, राष्ट्रको क्षमता के छ ? राष्ट्रको अहिलेको अर्थतन्त्रको स्थिति के छ र सरकारले के गर्न खोजिरहेको छ भन्ने कुरा बुझेर मात्र यस्ता कुराहरूको समाधान खोज्नुपर्छ। शिक्षक साथीहरूलाई म भन्न चाहन्छु भावना बगेर मात्र समस्याको समाधान हुँदैन।’
उनले रोकिएको शिक्षा ऐन उपयुक्त ढंगले ल्याउने र शिक्षकका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए।
प्रकाशित: २९ चैत्र २०८१ १९:२२ शुक्रबार