काठमाडौंमा हिंसा मच्चाएर फरार राजावादी आन्दोलनका कमाण्डर दूर्गा प्रसाईंलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीको विशेष ब्युरोको टोलीले झापाको काँकडभिट्टा नाकाबाट आधिकारिक रूपमा पक्राउ गरी नेपाल भित्र्याएको हो।
भारतीय प्रहरीको सहयोगमा भारतबाट पक्राउ परेका प्रसाईंलाई झापा ल्याई पुर्याइएको छ। उनलाई विमानमार्फत झापाबाट काठमाडौं ल्याइने छ।
कानुनविद्, मानवाधिकारकर्मी तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूको रोहबरमा भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको जिम्मा लगाएको थियो।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनले हिंसात्मक रूप लिएपछि दुई जनाको ज्यान गएको थियो। त्यसक्रममा व्यापक तोडफोड, आगजनी र लुटपाट भएको थियो। सुरक्षाकर्मीहरूलाई गाडी लिएर किच्न खोजेका प्रसाईं त्यही दिन फरार भएका थिए। फरार रहेकै अवस्थामा प्रसाईंले बुधबार मात्रै आफ्नो जीवनरक्षाको सुनिश्चित भए प्रहरीसमक्ष उपस्थित हुने बताएका थिए।
सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै प्रसाईंले आफ्नो जीवनको रक्षाको सुनिश्चितता भए २४ घण्टाभित्र प्रहरीसमक्ष उपस्थित हुने जनाएका थिए।
प्रकाशित: २९ चैत्र २०८१ १०:३६ शुक्रबार