नेपाल विद्युत् प्राधिकरणको कार्यकाल सकिनुभन्दा चार महिना अगावै पदबाट हटाइएका कुलमान घिसिङ अहिले विभिन्न क्षेत्र र तहका मान्छेहरूसँग संवादमा छन्।
पदबाट हटाइएपछि सर्वोच्च अदालत पुगेको तर, अदालतले आफ्नो पक्षमा आदेश नदिएपछि पत्रकार सम्मेलन गरेर आगामी यात्राबारे केही समय लिएर निर्णय गर्ने बताएका उनी अहिले विभिन्न क्षेत्र र तहका मान्छेहरूसँग संवादमा छन्।
धेरैले उनलाई राजनीतिमा आउन सुझाव दिएका छन् भने धेरैको आकलन पनि त्यही छ। तर, उनले भने अहिल्यै निर्णय नलिइएको बताएका छन्। यद्यपि,सङ्केत भने उनको त्यही छ।
यसबारे नागरिककर्मी धनबल राईले उनै घिसिङसँग गरेका छन्।
हिजोआज के गर्दै हुनुहुन्छ ?
अहिले केही गरेको छैन। के गर्ने भनेर सोचिरहेको छु।
के-के सोच्दै हुनुहुन्छ ? मनमा के-के कुरा आउँछन् ?
उमेरले ५४/५५ भएँ। अझै केही वर्ष एक्टिभ नै रहनुपर्ने होला। अब केमा सक्रिय हुने र कसरी काम गर्ने भन्नेबारे सोचिरहेको छु। फुर्सदमा छु हिजोआज।
अनि कसरी अगाडि बढ्ने हुनुभयो त ?
यसैगरी भन्ने अवस्थामा पुगिसकेको छैन। तर, समाजलाई पजिटिभ इम्प्याक्ट पर्ने काम गर्नुपर्छ भन्नेमा चाहिँ प्रष्ट छु। अहिले विभिन्न तहमा भेटघाट र कुराकानी गरिरहेकी छु। निर्णयमा पुग्नका लागि अझै समय लाग्छ।

कुन क्षेत्र र तहका मान्छेहरूसँग भेटघाट र कुराकानीमा हुनुहुन्छ ?
अहिले नै केही भन्दिनँ। विभिन्न तहका र क्षेत्रमा मान्छेहरूसँग भेटघाट गर्दैछु। को-कोसँग भेटघाट गर्दैछु भन्नेबारे केही भन्दिनँ।
तपाईं राजनीतिमा आउने चर्चा छ, राजनीतिक क्षेत्रकै मान्छेहरूसँग संवादमा हुनुहुन्छ हो ?
त्यो जुनसुकै क्षेत्रका पनि हुन सक्नुहुन्छ। पात्रका बारेमा अहिल्यै केही भन्दिनँ। जे होस्, म संवादमा छु। अहिल्यै निर्णय लिन्नँ।
प्रचण्डलगायतसँग संवादमा हुनुहुन्छ पनि भनिन्छ नि ?
होइन। जोसँग पनि हुनसक्छ। जे होस्, संवादमा छु।
भनेपछि अब विस्तारै तपाईंलाई राजनीतिमा देखिन्छ ?
अहिल्यै त्यसो नभनौँ। आउन पनि सकिन्छ, नआउन पनि सकिन्छ। मैले भनिसकेँ, अहिल्यै केही भन्ने अवस्था नै छैन। निर्णय लिइसकेको छैन। केही समय दिनुस्, म तपाईंहरूलाई भनिहाल्छु। बरु तपाईंहरू पनि सुझाव दिनुहोला, के गर्दा ठीक हुन्छ ?
तपाईंलाई धेरैले 'नेस्नल हिरो' भन्न थालेका छन्, धेरैको अपेक्षा त राजनीतिमै आओस् भन्ने जस्तो देखिन्छ नि ?
मैले सबैलाई धन्यवाद भन्नुपर्छ। तर,हिरो हुनेबित्तिकै राजनीतिमै आउनुपर्छ भन्ने पनि केही छैन है।
भनेपछि तपाईं राजनीतिमा आउने वा नआउने भन्ने कुरा अहिलेलाई फीफ्टी-फीफ्टी ?
त्यसै भनौँ अहिलेका लागि। उपयुक्त निर्णय लिन्छु।
प्रकाशित: २८ चैत्र २०८१ १५:३८ बिहीबार



