राजनीति

‘मुलुकमा राजनीतिक स्थिरता छ, ढुक्क भएर लगानी गर्नुस्’

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका राजनीतिक स्थिरताको अवस्था भएकाले आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्।

नेपाल चेम्बर अफ कमर्शको ७४ औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई आज (बुधबार) सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको प्रयोगसहित प्रतिस्पर्धी र रचनात्मकरुपमा उद्योग–व्यवसायलाई अगाडि बढाउन आग्रह गरेका हुन्।

आजको कृत्रिम बौद्धिकताको समेत सदुपयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्नुपर्नेमा उनले जोड दिए।

“कसैलाई गाली गलौज, बदनाम र भ्रम दिन सूचना र प्रविधिको प्रयोग गर्नु हुँदैन। मानिसकलाई सहजरुपमा सेवा सुविधा दिनका लागि सूचना र प्रविधिको प्रयोग हुनुपर्छ। हामीले बाह्य लगानी र संयुक्त लगानीलाई अझ अगाडि बढाउनुपर्ने हुन्छ। हरेक क्षेत्रमा सम्भवना छ भनेर तपाईंहरुले कन्भिन्स गर्न सक्नुहुन्छ।”, प्रधानमन्त्री ओलीले भने, “चेम्बर आफैमा एकता र साथ सहयोगका रुपमा निर्विवाद संस्थाका रुपमा अगाडि बढिरहेको देखेर मलाई खुसी लागेको छ। यो संस्था आफ्ना निम्तिमात्रै होइन, देश र समाजका लागि नयाँ सोचका साथ एकताबद्ध भएर अगाडि बढ्नु असाधारण महत्वको विषय हो। यस क्षेत्रको विकासका लागि सरकारले गर्नुपर्ने कुरामा कुनै कमी हुँदैन। देशमा उद्योग व्यवसाय फस्टाउने सबालमाा हामी सँधै पवित्र र निकट सम्बन्ध राखेर सहकार्य गर्नेछौँ। यो निकट सम्बन्ध कुनै कमिसनका लागि अवश्य होइन। देश बनाउने सबालमा हो।”

प्रधानमन्त्री ओलीले सरकारबाट आर्थिक विकासका लागि ल्याइएका अध्यादेशहरुप्रति चेम्बरजस्ता संस्थाहरुले घोचे थाप्ने काम नगरी समर्थन गरेको स्मरण गर्दै सही र गलतका आधारमा समर्थन र विरोध गर्ने यस्ता शैलीहरु प्रशंसनीय रहेको बताए।

“आज हामीलाई सुशासन र विकास चाहिएको छ। सुशानमा कुनै सम्झौता हुन सक्दैन तर थाहा नपाइकन भ्रष्टाचार चलिरहेको हुन सक्छ। त्यसलाई नियन्त्रण गर्नका लागि तपाईंहरुको पनि सहयोग चाहिन्छ।”, प्रधानमन्त्री ओलीले भने, “देशको परिवर्तनका लागि योगदान गरेका ठुला पार्टीहरु मिलेर सरकार बनेको छ। त्यसले स्थिरता दिएको आगामी निर्वाचनसम्म र त्यसपछि पनि यो शिलशीला कायम रहन्छ। त्यसकारण तपाईंहरु ढुक्क भएर लगानी गर्नुस्। देशको विकासका योगदान गर्नुस्।”

चेम्बर, एउटा सरकार र निजी क्षेत्रबीचको पुलको कार्य गर्ने संस्था भएको र नीति निर्माणका सवालमा सरकारलाई यसले सघाएकामा प्रधानमन्त्री ओलीले धन्यवाद दिए।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने उद्यमी–व्यवसायीहरुलाई प्रधानमन्त्री ओलीबाट अवार्ड प्रदान गरिएको थियो भने चेम्बरको स्मारिका पनि लोकार्पण भएको थियो।

प्रकाशित: २७ चैत्र २०८१ १८:२५ बुधबार