राजनीति

‘हिंसा उक्साउने ज्ञानेन्द्र शाहलाई कारबाही हुनुपर्छ’

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले ‘वारेस पाउने र दिने दुवैलाई कानुनी दायरामा ल्याउनुपर्छ’ भन्ने धारणा राखेका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत आफ्ना विचार राख्दै उनले शुक्रबार राजधानीको तीनकुनेमा भएको राजावादी आन्दोलनलाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई मुख्य अभियुक्तका रूपमा कानुनी जबाफदेहितामा ल्याउनुपर्ने बताए।

‘हिजोको कथित राजावादी आन्दोलन मार्फत आतङ्क, लुटपाट, आगजनी, अराजकता र व्यक्ति हत्या जस्ता हिंसात्मक कार्यहरू गर्न वारेस प्रदान गर्ने मुख्य व्यक्ति पूर्वराजा ज्ञानेन्द्र शाह हुन्। त्यसैले यस घटनाको सम्पूर्ण जिम्मेवारी उनैले लिनुपर्छ’, बर्तौलाले लेखेका छन्।

उनले लोकतन्त्रमा आफ्नो विचार, मान्यता र राजनीतिक दृष्टिकोण शान्तिपूर्ण रूपमा प्रस्तुत गर्न कसैलाई पनि रोक लगाउन नहुने उल्लेख गर्दै भने, ‘लोकतन्त्र र विधिको शासनको नाममा लुटपाट, आगजनी, व्यक्ति हत्या र अराजकता कुनै हालतमा क्षम्य हुन सक्दैन। ती कार्यहरू दण्डनीय हुन् र संलग्न जो–कसैलाई पनि कानुनी दायरामा ल्याउनै पर्छ।’

प्रकाशित: १६ चैत्र २०८१ १४:३९ शनिबार