राजनीति

दाङमा कालो झण्डा देखाइएकोबारे बाबुराम- चर्चा गर्नलायक विषय होइन

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईलाई बिहीबार (आज) दाङमा कालो झण्डा देखाइयो। भट्टराईलाई राजावादी युवाहरूले कालो झण्डा देखाएको बताइएको छ।

तर, भट्टराईको सचिवालयले भने त्यो चर्चा गर्नलायक विषय नभएको बताएको छ।

"दाङ घोराहीमा 'नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनीतिको औचित्य र आधार' विषयक बृहत् अन्तरसंवाद कार्यक्रम चलिरहेको समयमा कार्यक्रम स्थल बाहिर उक्साहटमा आएका ५/६ जना रैतीहरूले सस्तो चर्चा बटुल्न सङ्घीय लोकतान्त्रिक गणतन्त्र र  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध केही बेर नाराबाजी गरी मिडिया अटेन्सन लिन खोजिएको विषय कुनै बहस र चर्चालायक कुरा होइन," सचिवालयले भनेको छ।

थप भनिएको छ, 'सामन्ती व्यवस्था परिवर्तनका लागि जुन तहको दृढता र सङ्घर्ष हामीबाट भएको छ, त्यसप्रति सदा गौरव र प्रतिबद्धता रहनेछ।'

प्रकाशित: १४ चैत्र २०८१ १८:४० बिहीबार

#Baburam Bhattarai