नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले 'जो भ्रष्टाचारमा लिप्त छ, उसैलाई ऊर्जामन्त्री दिएको छ' भन्ने अभिव्यक्ति दिएका छन्।
तराई-मधेश जागरण अभियानअन्तर्गतको शनिबार (आज) चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो अभिव्यक्ति दिएका हुन्।
'अहिले त के भएको छ भने जो बढी भ्रष्टाचारमा लिप्त छ, उसैलाई ऊर्जामन्त्री दिएको छ। अनि राम्रो काम गर्नेलाई कोपरेको छ, सताएको छ,' दाहालले भने।
अब मुलुक प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्थामा जानुपर्ने उनले बताए। 'अब राष्ट्रपति प्रत्यक्ष निर्वाचित हुनुपर्छ अनि राष्ट्रपतिले विज्ञलाई मन्त्री बनाउनुपर्छ। त्यसपछि विश्वविद्यालयका अनुभवी शिक्षकहरू मन्त्री हुन पाउँछन्। मजदुर आन्दोलनका अनुभवी नेताहरू मन्त्री हुन्छन्। अहिले त जो बढी भ्रष्टाचारी, उही मन्त्री।'
अहिले नेपाली कांग्रेसका नेता दीपक खड्का ऊर्जामन्त्री छन्। मन्त्री खड्का र माओवादीले विद्युत् प्राधिकरणमा ल्याएका कार्यकारी निर्देशन कुलमान घिसिङबीचको टकराव सतहमा छ। यही पृष्ठभूमिमा दाहालले यस्तो अभिव्यक्ति दिएका हुन्।
प्रकाशित: ९ चैत्र २०८१ १५:२१ शनिबार