राजनीति

जोखिममा रहेका सामुदायिक विद्यालयमा कोशी सरकारले लगानी गर्छ: मुख्यमन्त्री

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशभित्रका जोखिममा रहेका सामुदायिक विद्यालयमा आगामी आर्थिक वर्षदेखि लगानी गर्ने बताएका छन्।

बुधबार धरान वडा नं-१२ मा सञ्चालित पब्लिक माध्यमिक विद्यालयको ७८औं स्थापना दिवस तथा अभिभावक भेलालाई सम्बोधन गर्दै उनले सङ्घीय सरकारसँग मिलेर जोखिमका विद्यालयहरूमा बजेट विनियोजन गर्न प्रस्ताव गरे पनि सङ्घीय सरकारले सुनुवाइ नगरेको बताए।

यस्तो अवस्थामा प्रदेशको स्रोतले भ्याएसम्म आवश्यक लगानी गर्ने उनले स्पष्ट पारे। मुख्यमन्त्री कार्कीले हिमाल, पहाड र तराईका जोखिमयुक्त विद्यालयहरूलाई प्राथमिकता दिँदै प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि नमूनायोग्य कार्यक्रम ल्याउने बताए।

‘सामुदायिक विद्यालयहरूको अवस्था नाजुक छ। हिमाली र पहाडी जिल्लाको अवस्था झनै दर्दनाक छ,’ उनले भने, ‘हामी नमूनायोग्य काम गर्न खोज्दैछौं। आउँदो वर्षबाट प्रदेशको शिक्षा नीति बनाएर अघि बढ्नेछौं।’

प्रदेश सरकारले आगामी वर्षका लागि बजेट निर्माण प्रक्रिया सुरु गरिसकेको उल्लेख गर्दै उनले शिक्षा क्षेत्रमा सुधारका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको दोहोर्‍याए।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले धरानका मेयर हर्क साम्पाङलाई लक्षित गर्दै धरानबासीहरू गलत दिशातर्फ नलाग्न सचेत गराए।

‘धरान विविधतायुक्त पुरानो सहर हो। यो सुन्दर फूलबारी जस्तै हो, जहाँ विविधताबिच एकता आवश्यक छ। समाजलाई गलत दिशातर्फ मोड्ने काममा धरानवासी एकताबद्ध हुनु आवश्यक छ,’ उनले भने।

उनले धरानले अपेक्षित विकास हासिल गर्न नसकेको बताउँदै सबै पक्ष मिलेर यसलाई नमुना सहरका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रमका अवसरमा सङ्घीय सरकारको बजेटबाट निर्मित भवनको उद्घाटन गरिएको थियो। साथै, विद्यार्थीहरूले तयार पारेका ३३ वटा सिर्जनात्मक गतिविधिको प्रदर्शनीसमेत गरिएको थियो।

पब्लिक माध्यमिक विद्यालयका प्रधानाध्यापक डा. इन्द्र मोहन झाका अनुसार विद्यालयमा प्राइमरीदेखि कक्षा १२ सम्म अध्ययन व्यवस्था छ। हाल तीन हजार चार सय विद्यार्थी अध्ययनरत छन्।

वि.सं. २००३ मा राणा शासनकालका स्थानीय शिक्षा प्रेमीहरूको पहलमा यो विद्यालय स्थापना भएको थियो।

प्रकाशित: ६ चैत्र २०८१ १९:२४ बुधबार