राजनीति

वैकल्पिक राजनीतिमा मुद्दा र विचार मिल्ने दलहरुसँग सहकार्य गर्छौंः डा. भट्टराई

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीले सुरु गरेको वैकल्पिक राजनीतिको उद्देश्य कुनै पार्टी वा विचारलाई निषेध गर्ने नभएको बताएका छन्।

नेपाल समाजवायी पार्टी (नयाँ शक्ति) ले बुधबार काठमाडौंमा आयोजना गरेको ‘नयाँ युगको कार्यभारः वैकल्पिक राजनीतिक औचित्य र आधार’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले आफ्नो पार्टीको वैकल्पिक राजनीतिमा मुद्दा र विचार मिल्ने दलहरुलाई रुपान्तरण गरेर अघि बढ्ने बताए।

उनले युगको आवश्यकता अनुसार विचारसहितको वैकल्पिक राजनीति सुरु गरेको दाबी गरे। वर्तमान दलहरुले मुलुकलाई अगाडि बढाउन नसक्ने भन्दै उनले नयाँ विचार र नयाँ युगलाई मार्ग प्रशस्त गर्नुपर्ने जिकिर गरे।

अध्यक्ष डा. भट्टराईले नयाँ शक्ति पार्टी कुनै दलको विचार वा आस्थाको विरुद्धमा नभई नयाँ युगको माग भएको दाबी गरे।

उनले भने, ‘उदारवादी लोकतन्त्रले स्वतन्त्रता त दियो, तर पूँजीवादी अर्थतन्त्रले बजार अर्थतन्त्रले केही मान्छे धनी त बनायो, तर असमानता ल्यायो। पुष्पालालहरुले अर्को धार ल्याए, हामी त्यसको सम्मान गर्छौं। तर अहिले त्यतिले पुगेन। अब नयाँ युगको नयाँ आवश्यकता अनुसार नयाँ विचार, नयाँ नीति र कार्यक्रमसहितको नयाँ वैकल्पिक शक्ति चाहियो भनेर हामीले सुरु गरेको हाैं। कसैलाई गाली वा निषेध गर्ने ढंगले हामी आएको होइन।’

अध्यक्ष भट्टराईले पुँजीवाद र उद्योग धन्दाको विकास नभएसम्म देशमा उन्नत लोकतान्त्रिक प्रणाली नआउने भन्दै उद्यमशिलतालाई जोड दिनुपर्ने बताए। उनले अर्थतन्त्रको नीति अनुसार सामन्तवाद भन्दा पुँजीवाद प्रगतिशील भएको जनाए।

प्रकाशित: २८ फाल्गुन २०८१ २०:१८ बुधबार