नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले राजावादी पक्षहरुको सक्रियताको कारण मुलुकमा खतरा र राजनीतिक अस्थिरता पैदा भएको टिप्पणी गरेकी छिन्।
राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै उनले प्रतिगामी तत्वहरु संविधान उल्लङ्घन गर्दै लोकतन्त्रमाथि धावा बोलिरहेको बताइन्।
सांसद राईले मुलुकभर अनावश्यक नाराहरु गुञ्जिरहेको उल्लेख गर्दै सबैले यसको प्रतिवाद गर्दै संविधान कार्यान्वयनमा अघि बढ्न जरुरी रहेको जोड दिइन्।
उनले भनिन्, “यतिबेला फेरि प्रतिगामी तत्वहरु कुर्लिंदैछन्। आज संविधानको उल्लङ्घन गर्न खोजिरहेका छन्। हामीले वर्षौ संघर्ष गरेर ल्याएका उपलब्धीहरु फेरि खोस्न चाहन्छन्। आज संघीय लोकतन्त्रमाथि धावा बोलिरहेका छन्। हामीले संविधानबाट प्राप्त गरेका अधिकारहरु दिनदिनै कमजोर बन्दै गइरहेका छन्। हामीले मसानघाटमा पुर्याएको राजतन्त्र कुर्लिरहेको छ, त्यसकारण खतरा र राजनीतिक अस्थिरता पैदा भइरहेको छ।”
उनले हरेक ठाउँमा अनावश्यक नाराहरु गुञ्जिरहेको बताउँदै यसमा सबैले ध्यान केन्द्रित गर्नुपर्ने माग गरिन्।
उनले भनिन्, “हामीले प्राप्त गरेका उपलब्धीहरु नगुमाउन सजग बनौं र संविधान कार्यान्वयनमा अघि बढौं। नेपाली जनताको बलिदानीबाट प्राप्त व्यवस्था जोगाउन सबै एकजुट हुने समय आएको छ।”
प्रकाशित: २५ फाल्गुन २०८१ १५:०३ आइतबार