राजनीति

टीकापुरमा दाहालको बयान: रेशमलाई मैले छुटाएको हो, माओवादीमा आऊ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले टीकापुर घटनामा तीनै तहका अदालतबाट दोषी प्रमाणित भएर जेल पुगेका रेसम चौधरीलाई आफूले छुटाएको बयान दिएका छन्। कैलालीको टीकापुरमा माओवादी केन्द्र निकट थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले यस्तो बयान दिएका हुन्।

‘म यो पनि भन्न चाहन्छु अहिले नागरिक उन्मुक्ति पार्टी रेसम चौधरी हुनुहुन्छ। जे भए पनि थारुको बच्चा हो,’ दाहालले भने, ‘टीकापुर घटना, टीकापुर आन्दोलनका बारेमा थुप्रै जालझेलहरू भएको मलाई थाहा छ। यो थारुको बच्चालाई छुटाउन पाइयो भने थारु जनतालाई अलिकति भए पनि शान्ति होला भनेर जोखिम उठाएर छुटाएको हो।’ 

आफू प्रधानमन्त्री भएकै बेला त्यो जोखिम उठाएको उनले बताए। उनले भने, ‘मैले प्रधानमन्त्रीको हैसियतले मन्त्रिपरिषद्बाट निर्णय गरेर, खोरमा उनलाई पटक–पटक भेटेर राष्ट्रपतिलाई भनेर छुटाएको हो।’अहिले भने रेसमले आफूलाई छाडेको उनले गुनासो गरे । ‘तर अहिले रेसम कता कता छन्, मलाई आजभोलि त थाहा छैन,’ दाहालले भने। 

रेशमबाट धेरै हुन्छ भन्ने सोच्न नहुने उनले बताए। उनले भने, ‘रेशमबाट धेरै हुन्छ सोच्नुभएको साथीले रेशमलाई शुद्ध ल्याएर माओवादीमा आउनु उचित हुन्छ। सबैको भलो त्यसैमा छ। यता र उता गरे त्यसले कहीँ पुगिदैन् ।’ 

यस्तै थारुमा एउटा जागरण र चेतना ल्याउनुमा पनि माओवादी जनयुद्धको मुख्य भूमिका रहेको दाहालले दाबी गरे।

प्रकाशित: २० फाल्गुन २०८१ १७:५६ मंगलबार

#Tikapur incident #Prachanda #Resham Chaudhary #pusapakamal Dahal