परस्पर मतभिन्नताको चर्चा चलिरहेका बेला पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको तारिफै–तारिफ गरेकी छन्।
सोमबार प्रधानमन्त्री ओलीमाथि लिखित ‘केपी शर्मा ओलीस् सपना, सङ्घर्ष र सङ्कल्प’ नामक पुस्तकको लोकार्पण समारोहमा पूर्व राष्ट्रपति भण्डारीले प्रशंसाको पहाड खडा गरेकी हुन्।
पूर्व राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई समृद्धि अभियानका स्वप्नद्रष्टाको टिप्पणी गरिन्। उनले भनिन्, ‘प्रधानमन्त्री ओली नेपालका विशिष्ट राजनीतिज्ञ तथा मुलुकको सामाजिक, आर्थिक समृद्धि अभियानका स्वप्नद्रष्टा र कुशल नेतृत्वकर्तामध्येका एक हुनुहुन्छ।’ आफू राष्ट्रपति हुँदा ओलीले खेलेको भूमिकामा आफूले एक प्रकारको हुटहुटी देखेको उनले बताइन्।
‘म राष्ट्रपति हुँदा उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो,’ पूर्व राष्ट्रपति भण्डारीले भनिन्,‘त्यस बखत उहाँले मुलुकको कार्यकारी प्रमुखको हैसियतले निर्वाह गर्नुभएको समन्वयात्मक भूमिका, राजनीतिक स्थिरताका निम्ति खेल्नुभएको भूमिका, महाभूकम्पले भत्काएका संरचना पुन निर्माण गर्न देखाउनुभएको सक्रियता र त्यसमा प्राप्त सफलता, कोरोना महामारी नियन्त्रण तथा प्रभावितहरूको उपचारमा देखिएको प्रभावकारी व्यवस्थापन एवं आर्थिक समृद्धि हासिल गर्न उहाँमा देखिएको हुटहुटी मैले नजिकबाट अवलोकन गरेको छु।’
प्रधानमन्त्री ओलीको प्रभावकारी कार्यक्षमता र महत्त्वपूर्ण अनुभवको मुलुकले भरपुर उपयोग गर्नुपर्ने पनि उनले टिप्पणी गरिन्। ‘अतुलनीय कार्यक्षमता, अदम्य साहस र सृजनशीलताका धनी ओली एक अब्बल एवं लोकप्रिय राजनेता हुनुहुन्छ। उहाँले आफूलाई आस्था, अडान र निष्ठाको प्रतिमूर्तिका रूपमा उभ्याउन सफल हुनुभएको छ,’ पूर्व राष्ट्रपति भण्डारीले भनिन्।
यस्तै, प्रधानमन्त्री ओलीले विगतमा नेपालको कम्युनिस्ट आन्दोलनको एकताका लागि खेलेको भूमिकाको पनि भण्डारीले प्रशंसा गरिन्। पुनः त्यसै गरी एकपल्ट फेरि कम्युनिस्ट एकताको भूमिका खेल्न उनको आग्रह थियो।
प्रकाशित: १९ फाल्गुन २०८१ १६:४९ सोमबार