राजनीति

कांग्रेस र एमालेसँग मिल्दा रोग सर्‍यो, उपचार खोज्न जनतामा आयौँ: अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुराना दलको सहकार्यले उनीहरु भित्रको रोग माओवादीमा पनि संक्रमण भएकाले रोगको उपचार खोज्न जनताको बिचमा आएको बताएका छन्।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत धनुषाको हंसपुर नगरपालिकामा आयोजित जागरण तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

कहिले कांग्रेस र कहिले एमालेसँग सहकार्य गर्दागर्दै उनीहरूको रोग माओवादीभित्र पनि देखिन थालेकाले पार्टीभित्र विभिन्न तहका परामर्श बैठकबाट रोग पहिचान गरेर यसको उपचार गर्ने डाक्टर जनता मात्रै हुन भन्ने निष्कर्षसहित उपचार खोज्न जनताको बिचमा आएको बताए।

माओवादीप्रति विश्वास गरेका लाखौँ लाख जनताको विश्वास कायम राख्न नसक्नु कमजोरी भएको उल्लेख उनले सबैभन्दा पहिले आफ्ना कमीकमजोरी सच्याएर जनतातिर फर्कन केन्द्रीय समिति बैठकले दिएको निर्देशनअनुसार पार्टीको सन्देश बोकेर यो अभियान थालिएको बताए।

हुलाकी मार्ग वरिपरि सबैभन्दा धेरै उत्पीडित वर्ग र समुदायको बसोबास रहेकाले समुदायभित्रै छिरेर जनताको मनको कुरा नजिकबाट बुझ्ने कोसिस गरिरहेको बताए। त्यहीअनुरूप जनताको घरमा बस्ने, उनीहरुले जे खान्छन्, त्यही खाने, जस्तोमा बस्छन्, त्यही बस्ने हरेको अध्यक्ष दाहालले स्पष्ट गरे।

अध्यक्ष दाहालले हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग गर्ने बताए। लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले २०७३ मा प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारु गरेपछि योजना अघि बढेको जानकारी दिए।

प्रतिक्रियावादी दिशा उन्मुख रहेकाले नक्कली मधेसवादी दलसँग सावधान रहन उनले आग्रह गरे। मधेसको मुक्तिविना देशको मुक्ति सम्भव छैन भन्ने दृढ मान्यताका साथ पार्टीले सबैभन्दा पहिले मधेसी मुक्ति मोर्चा गठन गरेर जनयुद्ध थालनी गरिएको स्मरण गराउँदै अध्यक्ष दाहालले मधेससँगै वर्गीय मुक्तिका लागि जीवन आहुति दिने एक हजार तीन सय मधेसका सहिदसहित मधेस मुक्तिका लागि ज्यान गुमाउने सबै सहिदका सपनाको जिम्मेवारी पनि अब माओवादीले लिने प्रतिबद्धता व्यक्त गरे। 

प्रकाशित: १८ फाल्गुन २०८१ १७:२८ आइतबार

#Puspakaml dahal