राजनीति

रास्वपा नेता थापा पक्राउ प्रकरण: पार्टीले भन्यो– उनी यस अघि नै केन्द्रीय सदस्यबाट अलग थिए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेको समाचार बाहिर आएपछि रास्वपाले स्पष्टीकरण दिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद मनिष झाका अनुसार थापाले यसअघि नै ‘व्यक्तिगत कानुनी प्रक्रियाहरू समाधान नहुँदासम्म’ केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहने निवेदन दिएको बताए।

रास्वपाले थापा अमेरिकी इमिग्रेसन हिरासतमा परेको जानकारी पाएको बताएको छ। झाका अनुसार थापाले आफ्नो व्यक्तिगत कानुनी विषयहरू समाधान गर्नुपर्ने भएकाले केही समयका लागि जिम्मेवारीबाट अलग रहने निर्णय लिइसकेको थिए।

उनले भने ‘मोहन थापाजीले यस अगावै नै आफूले केही व्यक्तिगत कानुनी प्रक्रियाहरू स्पष्ट र समाधान गर्नु छ र सो किनारा नलागे सम्मको लागि आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएर जानुभएको थियो।’ 

थापा रास्वपा सभापति रवि लामिछानेसँग निकट मानिन्छन् भने उनीमाथि ढाका कुमार श्रेष्ठसँग पैसाको लेनदेन सम्बन्धी आरोप लागेको थियो।

उनी अघिल्लो साता अमेरिकामा पक्राउ परेका हुन्। तर, उनलाई के विषयमा पक्राउ गरिएको हो भन्ने बारेमा स्पष्ट जानकारी बाहिर आएको छैन।

प्रकाशित: १८ फाल्गुन २०८१ १६:३७ आइतबार