राजनीति

जन्मदिनमा प्रधानमन्त्रीको आग्रह : सुशासन र समृद्धिको यात्रामा साथ दिएर शुभकामनालाई सार्थक बनाइदिनुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई छिटो छरितो सेवा दिएर सुशासन र समृद्धिको यात्रामा साथ दिन राष्ट्रसेवक कर्मचारीहरुलाई आग्रह गरेका छन् ।

आफ्नो ७४औँ जन्मदिनका अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंहदरबारमा आयोजना गरेको शुभकामना कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई गरिएको ‘वर्थ डे विस’ ले देशको गरिबी हटाउने तथा सुशासन र समृद्धि कायम गर्ने कामको नेतृत्व गर्नमा सफलता मिलेमा त्यसको सार्थकता हुने बताए ।

“सेवा प्रवाहका कुराहरुमा सेवाग्राहीलाई सकारात्मकभावका साथ काम गरेर विकास निर्माण र सुुशासन कायम गर्ने काममा मलाई मद्धत गरेर शुुभकामनालाई  सार्थक बनाउन व्यवहारिकरुपमा पनि त्यसअनुसारको काम गर्न म आग्रह गर्छु,’ प्रधानमन्त्री ओलीले भने, “हामी भ्रष्टाचार गर्दैनौँ र गर्न दिन्नौँ तर मुलुक सम्पत्ति शुद्धीकरणका सन्दर्भमा देश ग्रे लिष्टमा परेको छ । यसलाई हटाउनुुछ । मलाई व्यक्तिगतरुपमा लाभ लिनुपर्ने कुरा केही छैन । हामी कमिसनका लागि ठेक्कापट्टाका काम गर्दैनौँ । विकास निर्माणका लागि ठेक्का लगाउँछौँ । यसमा सबैका साथ होस् भन्ने मेरो चाहना हो ।’’

कार्यक्रममा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, नेपालका सरकारका मुख्यसचिव एकनारायण अर्याल, सचिवहरु र राष्ट्रसेवक कर्मचारी सहभागी थिए ।

यसैबीच, प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली आज एमाले केन्द्रीय कार्यालयले च्यासलमा आयोजना गरेको जन्मदिनको कार्यक्रममा सहभागी भएका थिए । 

प्रकाशित: ११ फाल्गुन २०८१ १८:४६ आइतबार

#pm kp oli #Birthday