राजनीति

माधव नेपालको खण्डन: एमाले र माओवादीसँग मिल्ने कुप्रचार हुँदैछ, भ्रममा नपर्नुस्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको दाबी गरेका छन्। शुक्रबारबाट सुरु भएको नेकपा एसको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै अध्यक्ष नेपालले कुनै पनि कुप्रचारको भ्रममा नपर्न आग्रह गर्दै यस्तो बताएका हुन्। 

‘हाम्रो पार्टीलाई लिएर अनेक प्रचार आउने गरेका छन्। कहिले यो पार्टी एमालेसँग मिल्ने भयो भनेर, कसैले माओवादीसँग मिल्न जाने भयो भनेर,’ अध्यक्ष नेपालले भने, ‘यी अनेक किसिमका कुप्रचार भइरहेका छन्। यस्ता कुनै पनि कुप्रचारको भ्रममा पर्नुपर्ने आवश्यकता छैन।’ 

नेकपा एसले आफ्नो पार्टीलाई बलियो बनाएर अघि लैजान चाहेको उनले बताए। ‘हामी हाम्रै पार्टी सशक्त बनाउन चाहन्छौँ । क्रान्तिकारी धारको बलियो शक्ति बनाउन चाहन्छौँ,’ उनले भने।

तर पार्टीलाई अगाडि बढाउन स्वाभाविक रुपमा मित्रहरुको खोजी र सहयोगीको पनि खोजी पनि हुने अध्यक्ष नेपालले टिप्पणी गरे। वामपन्थी र समाजवादी शक्तिलाई मिलाएर लैजानुपर्ने आवश्यकता रहेको पनि उनले बताए। 

प्रकाशित: ९ फाल्गुन २०८१ १२:५९ शुक्रबार

#KP Sharma Oli #madhab kumar nepal #Puspa Kamal Dahal