बुधबार (आज) नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक जारी छ। तर, यो सन्दर्भ भने मङ्गलबार (हिजो)को हो। मङ्गलबार एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बसेको थियो। बिहान ११ बजे सुरु हुने भनिएको बैठक नेताहरू ढिलोगरी पुगेपछि अलि ढिला नै सुरु भयो।
बैठक अझ ढिला त्यतिबेला भयो, जतिबेला सम्मानित नेता झलनाथ खनालले मञ्चमा जानै मानेनन्। सुरुमा नेताहरूले बुझेनन्, किन नेता खनाल मञ्चमा जान मानेनन्। जबकि अरु बैठकहरूमा उनी सिधै मञ्चमै गएर बस्ने गरेका हुन्।
तर, मङ्गलबार भने उनी पुगेर स्थायी कमिटी सदस्यहरूको कुर्सीमा बसे। त्यसपछि नेताहरूले मञ्चमा आउनका लागि भने। तर, उनी मानेनन्। त्यसपछि महासचिव घनश्याम भुसाललगायतका नेताहरूले उनलाई मञ्चमा त पुर्याए। तर, उनको असन्तुष्टि भने कायमै रह्यो। पछि बुझ्दा थाहा भयो, नेता खनालको असन्तुष्टि भर्खरै छापिएको विधानमा रहेछ। विधानको धारा ४० मा सम्मानित नेता केन्द्रीय कमिटीले तोक्ने भन्ने व्यवस्था छ। नेता खनालको असन्तुष्टि त्यहीँ रहेछ।
उनीनिकट एक नेताले भने, 'उहाँलाई महाधिवेशनले नै सम्मानित नेता तोकिसकेको अवस्था छ। तर, विधानमा केन्द्रीय कमिटीले तोक्ने भन्दा उहाँले असन्तुष्टि पोखाउनुभयो। उहाँले तोकिएपछि मात्रै मञ्चमा जान्छु भनेर भन्नुभयो।'
उसो त नेता खनाललाई गत असारमा सम्पन्न पार्टीको महाधिवेशनले नै सम्मानित नेता निर्वाचित गरिसकेको हो। त्यसबेला अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालसहित सम्मानित नेता खनाल पनि निर्वाचित भएका थिए। तर, अहिले आएर पुन: केन्द्रीय कमिटीले तोक्ने व्यवस्था गरिँदा नेता खनालले असन्तुष्टि जनाएका हुन्।
प्रकाशित: ७ फाल्गुन २०८१ १५:५४ बुधबार