राजनीति

हुलाक टिकटमा रैथाने र लोपोन्मुख कलासंस्कृति पनि समेटिनुपर्छः मन्त्री गुरुङ

फाइल।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक टिकटमार्फत लोपोन्मुख, रैथाने र परम्परागत कला संस्कृतिको जगेर्ना गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

हुलाक सेवा विभागले सप्ताहव्यापी रुपमा आयोजना गरेको राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा हुलाक टिकट प्रदर्शनी कार्यक्रममा मन्त्री गुरुङले विभागले आवश्यक परेको खण्डमा ऐतिहासिक विषयवस्तु खोजेर टिकट प्रकाशन गर्नुपर्ने बताए।

नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले हुलाक टिकट एउटा कागजको टुक्रा मात्र नभई यसले देशको पहिचान र इतिहासलाई सधैं जगेर्ना गर्ने दस्तावेज रहेको बताए। मन्त्री गुरुङले समाजका रैथाने मूल्यमान्यता, जीवनशैली, पर्यटनलाई प्रवर्द्धन गर्ने खालका विषयवस्तु समेत हुलाक सेवाले आफैंले पहिचान गरी छाप्नुपर्नेमा जोड दिए।

उनले हुलाक सेवालाई समयसापेक्ष आधुनिकीकरण गर्न मन्त्रालय सधैँ तत्पर रहेको उल्लेख गर्दै जनसेवामुखी भएर हुलाक सेवामा काम गर्न कर्मचारीलाई आग्रह गरे। साथै, उनले हुलाक कार्यालयलाई आवश्यक बजेट व्यवस्थापन गर्न मन्त्रालय तयार रहेको समेत बताए।

कार्यक्रममा मन्त्री गुरुङले नयाँ हुलाक टिकट ‘पञ्चमार्क मुद्रा’ र ‘भित्रीकोट दरबार’ टिकटको आवरणमा टाँचा प्रदान गरे।

प्रकाशित: ५ फाल्गुन २०८१ १६:४० सोमबार