राजनीति

देशका लागि योगदान दिनेलाई सबैले सम्मान गर्नुपर्छः महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देशका लागि योगदान दिने मानिसलाई सबैले प्रोत्साहन गर्नुपर्ने बताएका छन्।

दाङको तुलसीपुर उपमहानगरपालिका–११ मालेडाँडामा आज श्रीमणि आचार्य स्मृति पार्क शिलान्यास कार्यक्रममा उनले श्रीमणि आचार्यले देश र जनताका लागि योगदान दिएको बताए। उनले कुनै पनि ठाउँमा खर्च गर्दा त्यसको उपलब्धि हुने गरी खर्च गर्नुपर्ने बताए।

भौतिक पूर्वाधार निर्माण गर्दा यस्ता कुरामा ध्यान दिन पोखरेलले आग्रह गरे। यस्ता काममा तीनवटै तहका सरकारको सहकार्य आवश्यक रहेको पनि उनले स्पष्ट पारे। विकासका हरेक काममा स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने भएकाले बनेका संरचना कस्तो हिसाबले सदुपयोग गर्ने भन्ने कुरा स्थानीय समुदायकै भूमिकामा भर पर्ने पोखरेलको भनाइ थियो।

स्थानीय समुदायले उचित प्रयोग र सदुपयोग गरेन भने सरकारले जति खर्च गरे पनि त्यो प्रभाकारी नहुने पोखरेलले बताए। श्रीमणि आचार्यको नाम आफ्नै कामले जीवन्त रहेको पोखरेलले धारणा राखे। उनको सम्मानमा स्मृति पार्क बन्नु खुसीको कुरा भएको उनले बताए।

दाङको कम्युनिष्ट आन्दोलनमा श्रीमणि आचार्यले दिनरात खटेर पार्टीको नेतृत्व गरेका थिए। उनको २०६४ पुस ३ गते मृत्यु भएको थियो।

प्रकाशित: ५ फाल्गुन २०८१ १४:२९ सोमबार

#shankar pokharel