राजनीति

नागरिकता ऐन संशोधन: आमाको नामबाट नागरिकता लिने प्रक्रिया सहज बनाइने

गृहमन्त्री रमेश लेखकले आमाको नामबाट नागरिकता लिने प्रक्रिया थप सहज बनाउन नेपाल नागरिकता ऐन, २०६३ मा संशोधन प्रस्ताव संसदमा पेश गरिएको जानकारी गराएका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१ पेश गर्दै गृहमन्त्री लेखकले विशेष गरी एकल आमाका सन्तानलाई नागरिकता प्राप्त गर्न सहज बनाउने व्यवस्था विधेयकमा समेटिएको बताए।

उनका अनुसार कुनै व्यक्तिले नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहे त्यसका लागि छुट्टै कानुनी व्यवस्था गर्ने प्रस्ताव विधेयकमा राखिएको छ।

गृहमन्त्री लेखकले नागरिकता प्रदान गर्ने विषयमा अदालतमा परेका मुद्दाका आदेशहरूलाई समेत सम्बोधन गर्नुपर्ने भएकाले ऐन संशोधन आवश्यक भएको बताए।

उनका अनुसार अन्तरिम संविधान, २०६३ अनुसार जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई नेपाली नागरिकता प्रदान गर्ने प्रक्रिया सहज बनाइनेछ। साथै, बुबाको पहिचान स्पष्ट नभएका, सम्पर्कविहीन रहेका वा बुबा मृत्यु भइसकेका सन्तानलाई आमाको नाममा नागरिकता दिने कानुनी व्यवस्था विधेयकमार्फत प्रस्ताव गरिएको छ।

त्यस्तै, कुनै व्यक्तिको जन्मदर्ता वा शैक्षिक प्रमाणपत्रमा बुबाको नाम भए पनि उनी सम्पर्कमा नभएको अवस्थामा स्वघोषणाका आधारमा वंशजको नागरिकता प्राप्त गर्न सकिने व्यवस्था विधेयकमा समावेश गरिएको छ। साथै, १६ वर्ष नपुगेका बालबालिकाका लागि नाबालक परिचयपत्र प्रदान गर्ने व्यवस्था पनि ऐनमा समावेश गरिने प्रस्ताव गरिएको छ।

गृहमन्त्री लेखकले नागरिकता ऐनलाई व्यवहारिक र समावेशी बनाउने उद्देश्यले नेपाल नागरिकता ऐन, २०६३ मा संशोधन प्रस्ताव संसदमा पेश गरिएको स्पष्ट पारे।

प्रकाशित: २७ माघ २०८१ १९:०० आइतबार