राजनीति

उमागौरी सहकारीका अध्यक्ष रौनियार पुर्पक्षका लागि कारागार चलान

उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियार कारागार चलान भएका छन्।

मोरङको धनपालथान गाउँपालिका–४ स्थित कर्सिया बजारमा रहेको सहरकारी संस्थाका अध्यक्ष रौनियार अदालतको आदेशमा कारागार चलान भएका हुन्।

आइतबार मोरङ जिल्ला अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले रौनियारलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए। उनका अनुसार आदेश लगत्तै रौनियारलाई मोरङ कारागार चलान गरिएको छ। 

तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुने गरी रौनियारलाई कारागार चलानको आदेश भएको हो। सहकारीको रकम अपचलनमा मुछिएका उनी लामो समय फरार भए पनि माघ १४ गते अदालत आफै हाजिर भएका थिए।

अदालत हाजिर भएर बयान तथा थुनछेक बहस नसकिएसम्म उनी जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा थिए। रौनियारसहित २६ जनालाई प्रतिवादी बनाएर सहकारीको रकम अपचलन मुद्दा मंसिर २७ गते अदालतमा दर्ता भएको थियो।

सहकारीको बचत अपचलन मुद्दामा सहकारीका अध्यक्ष रौनियारसहित सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला, रंगेली नगरपालिका–२ का वडाध्यक्ष सन्तलाल खवास, धनपालथान गाउँपालिका–४ का पूर्व वडाध्यक्ष रोशन चौधरीलगायत प्रतिवादी छन्।

हिनामिना भएको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो माग दाबीसहित मुद्दा दर्ता गरिएको थियो।

पूर्व वडाध्यक्ष चौधरीलाई यसअघि नै अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिए लगत्तै कारागार चलान गरिएको थियो। अदालतले धरौटी बापत माग गरेको १० लाख बुझाएर अञ्जला र वडाध्यक्ष खवास ५ लाख धरौटी बुझाएर यसअघि नै छुटिसकेका छन्।

प्रकाशित: २० माघ २०८१ २०:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App