नेपाली कांग्रेसको संसदीय दलको बैठकमा संघीय संसदको आगामी निर्वाचन स्थानीय तहको निर्वाचन भन्दा पहिला गर्न माग गरेका छन् ।
शुक्रवार संसद भवनस्थित ल्होत्से हलमा बसेको बसेको कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले आगमी संघको निर्वाचन स्थानीय तहको निर्वाचन भन्दा पहिला गर्नेगरी आवश्यक व्यवस्था मिलाउन माग गरेका हुन्। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले स्थानीय तहको निर्वाचन भन्दा अगाडि आम निार्वचन गर्ने व्यवस्था मिलाउन सांसदहरुले जोडदार माग गरेको बताए। उनले आज सांसदहरुले बोल्ने क्रम सकिएको तर मन्त्री र पार्टीका पदाधिकारीहरुले बोल्न बाँकी रहेकाले २४ गते पुनः संसदीय दलको बैठक बस्ने जानकारी दिए। उनले बैठकमा सांसदहरुले सरकारले ल्याएको अध्यादेश, आफ्नो क्षेत्र विकासनिर्माणका कुराहरु उठाउनुभएको बताए।
उनले भने, ‘नेपाली काँग्रेसको संसदीय दलको बैठक आज सक्नेगरी हामीले बोलाएका थियौँ । तर बोल्ने वक्ताहरुको क्रम लामो भएकाले आज पनि बैठक सकेनौँ । सांसदहरुको बोल्ने क्रम सकिएको छ । अब मन्त्रीहरु, पदाधिकारीहरु र नेताहरुले बोल्ने क्रम बाँकी छ । यो संसदको बैठक २४ गते हुन्छ । त्यही दिन बिहान साढे ८ बजेदेखि बस्नेगरी बैठकलाई स्थगन गरिएको छ । अध्यादेशको विषयमा मान्य सदस्यहरुले कुरा उठाउनुभएको छ । आफ्नो क्षेत्र विकास निर्माणका कुराहरु उठाउनुभएको छ । सम्बन्धित जिल्लाका मान्य सदस्यहरुले पाथीभराको केबलकारका विषयमा जुन किसिमको द्वन्द्व भइरहेको छ । त्यसमा पनि प्रश्न उठाउनु भयो । त्यसमा गृहमन्त्रीज्युले संसदीय मामिला मन्त्रालयअन्तर्गत पर्दो रहेछ । उहाँले संसदीय मामिला मन्त्रालयको सचिव बोलाएर वार्ता समिति बनाएर वार्ता गरेर सकारात्मक ढंगबाट टुंग्याउन निर्देशन दिएको बताउनु भयो । आजको बैठकमा आगामी निर्वाचन स्थानीय तहको निर्वाचन भन्दा अगाडि आम निार्वचन गर्ने व्यवस्था मिलाउन सांसदहरुले जोडदार माग उठाउनुभएको छ ।’
प्रकाशित: १८ माघ २०८१ १२:३९ शुक्रबार